जनकपुरधाम, १० फागुन । रौतहटको सवगढा क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावपूर्ण अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयले गम्भीर ध्यानाकर्षण जनाएको छ । आयोगले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै पक्षसँग हार्दिक अपिल गरेको छ ।

जनकपुरधामस्थित आयोगको प्रदेश कार्यालयले जारी गरेको प्रेस नोटमा फागुन ७ गते रौतहट जिल्लाको सवगढामा हिन्दू र मुस्लिम समुदायबीच भएको विवादपछि विकसित परिस्थितिले मानव अधिकारका विभिन्न पक्ष प्रभावित भएको उल्लेख गरिएको छ ।

आयोगका अनुसार फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा मत माग्ने, प्रचारप्रसार गर्ने, मतदाता शिक्षा सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू समेत प्रभावित भएका छन् । सदियौँदेखि कायम सामाजिक सद्भाव पछिल्ला दिनमा देखिएको तनावका कारण खलबलिएको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।

हाल जिल्ला प्रशासन कार्यालय रौतहटले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको अवस्थामा उत्पन्न परिस्थिती र मानव अधिकारको अवस्थाबारे स्थलगत अनुगमन गर्न आयोगको एक टोली गौरतर्फ प्रस्थान गरेको जनाएको छ ।

आयोगले जारी गरेको वक्तव्यमा शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्न, सामाजिक तथा धार्मिक सद्भाव पुनःस्थापित गर्न र आसन्न निर्वाचनका गतिविधि निर्बाध रूपमा सञ्चालन हुने वातावरण बनाउन सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ ।

मधेश प्रदेश कार्यालयले सुरक्षा निकाय, स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज तथा समुदायका अगुवाहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।