रौतहट, १० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ का दुई मतदान केन्द्रमा पूर्ण रूपमा महिला कर्मचारी खटाइएको छ । निर्वाचन व्यवस्थापनमा लैंगिक समावेशितालाई प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाइएको छ ।

गौर नगरपालिका–५ स्थित आधारभूत विद्यालय बालमन्दिर भवन ‘क’ र ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारीसम्म सबै महिला कर्मचारी परिचालन गरिएको हो ।

रौतहट–१ अन्तर्गत रहेका १३२ स्थायी र दुई अस्थायी मतदान केन्द्रमध्ये यी दुई केन्द्रमा मात्र पूर्ण महिला टोली खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ‘क’ केन्द्रमा मतदान अधिकृत आस्था शर्मा पौडेल, सहायक मतदान अधिकृत सुचिता श्रीवास्तव, सहायक कर्मचारी प्रियंका कुमारी यादव, सबिता कुशवाहा र रुबी झा तथा सहयोगी कर्मचारीका रूपमा रञ्जना रिजाल खटिएका छन् ।

त्यस्तै ‘ख’ केन्द्रमा मतदान अधिकृत सब्रिना खातुन, सहायक मतदान अधिकृत कल्याणी मिश्र, सहायक कर्मचारी अर्चना कुमारी साह, हिमकला पोखरेल र मनिषा चौधरी तथा सहयोगी कर्मचारीका रूपमा गुडिया देवी राम परिचालित छन् ।

मुख्य निर्वाचन अधिकृत मनोज केसीका अनुसार अन्य मतदान केन्द्रमा भने मिश्रित रूपमा कर्मचारी खटाइएको छ । उनले निर्वाचन निष्पक्ष, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको जानकारी दिए ।

रौतहट निर्वाचन क्षेत्र नं. १ मा यस पटक कुल ७९८ कर्मचारी परिचालन गरिएको छ । प्रत्येक स्थायी मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहयोगी कर्मचारी र एक कार्यालय सहयोगी खटाइएको छ ।

सोहीअनुसार १३२ मतदान केन्द्रमा १३२ मतदान अधिकृत, १३२ सहायक मतदान अधिकृत, ३९६ सहयोगी कर्मचारी र १३२ कार्यालय सहयोगी परिचालन गरिएको छ ।

यसैगरी, दुई अस्थायी मतदान केन्द्रमा एक/एक मतदान अधिकृत, एक/एक सहायक मतदान अधिकृत र एक/एक कार्यालय सहयोगी खटाइएको छ ।अस्थायी मतदान केन्द्र रौतहट जिल्ला अदालत र कारागार कार्यालय रौतहटमा स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार रौतहट–१ मा सबैभन्दा बढी १,०६८ मतदाता जनता प्राथमिक विद्यालय भवन, गंगापिपरा (९ ‘ख’) मा रहेका छन् । सबैभन्दा कम ५३२ मतदाता आधारभूत विद्यालय भवन भेलहीटोल सखुअवा (९ ‘क’) मा छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा महिला कर्मचारीको पूर्ण सहभागितासहितको व्यवस्थापनलाई जिल्लामा सकारात्मक रूपमा हेरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण र पारदर्शी रूपमा सम्पन्न गराउन प्रशासनले सुरक्षा र व्यवस्थापन दुवै पक्षमा तयारी तीव्र पारेको जनाएको छ ।