जनकपुरधाम, १० फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर मधेश प्रदेशको राजधानी जनकपुरधाममा मैथिली भाषी समुदायले प्रदर्शन गर्दै शिक्षा र सरकारी कामकाजमा मैथिली भाषाको कार्यान्वयन गर्न माग गरेका छन् ।

जनक चौकबाट सुरु भएको र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै रेल्वे स्टेशन पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा विशेषगरी युवाहरूको सहभागिता देखिएको थियो । सहभागीहरूले ‘मातृभाषामा शिक्षा लागू गर’, ‘मैथिलीलाई कामकाजको भाषा बनाऊ’, ‘भाषिक अधिकार सुनिश्चित गर’ लगायतका नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै वरिष्ठ सामाजिक अभियन्ता रामरिझन यादवले प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्त गरे । उनले मधेश प्रदेश सरकारले मातृभाषा मैथिलीलाई कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न चासो नदेखाएको आरोप लगाए । विद्यालयहरूमा मातृभाषामा शिक्षाको व्यवस्था नगर्नु गैरजिम्मेवारपूर्ण कदम भएको उनको भनाइ थियो ।

यस वर्ष यूनेस्कोले तय गरेको नाराअनुसार ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ लाई आत्मसात गर्दै वक्ताहरूले प्राथमिक तहदेखि उच्च शिक्षासम्म मैथिलीलाई अनिवार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मैथिली साहित्यकार तथा सामाजिक अभियन्ताहरू अरविन्द यादव, धनिकलाल यादव, विमल यादव र दिपेन्द्र यादवलगायतले भाषिक पहिचान, संरक्षण र संवद्र्धनका लागि एकजुट हुन आह्वान गरे ।

उनीहरूले संविधानले सुनिश्चित गरेको भाषिक अधिकार व्यवहारमा कार्यान्वयन नभएको गुनासो गर्दै समयमै माग सम्बोधन नगरिए आन्दोलनलाई गाउँगाउँसम्म विस्तार गर्ने चेतावनी दिएका छन् ।