रौतहट, १० फागुन । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मधेश प्रदेशको दक्षिणी भेगस्थित रौतहट जिल्लाको सदरमुकाम गौर तनावग्रस्त बनेको छ ।

बिहीबार राति विवाहको जन्तीले मस्जिदनजिक बाजा बजाएको विषयलाई लिएर दुई समुदायबीच भएको झडपले सामाजिक सद्भाव खलबलिँदा स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागू गरेको हो ।

फागुन ७ गते राति गौर नगरपालिका–६ सवगढा क्षेत्रमा विवाहको जन्ती मस्जिदअगाडि पुगेपछि बाजा बजाइएको विषयमा विवाद चर्किएको थियो । बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सत्यनारायण साहकी छोरीको विवाहका लागि जन्ती सवगढातर्फ जाँदै गर्दा मुस्लिम समुदायले आपत्ति जनाएपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक झडपमा सवगढाकी ४५ वर्षीया सदिया खातुन, ४१ वर्षीय भाग्यनारायण साह, २० वर्षीय रवि साह, २० वर्षीय धरमवीर साह, ४० वर्षीय किरीत साह र ४२ वर्षीय गजेन्द्र साह घाइते भएका थिए । उनीहरूको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय प्रशासनको पहलमा शुक्रबार साँझ दुई पक्षबीच ६ बुँदे सहमति भएको थियो । सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आगामी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रतिबद्धता जनाइए पनि शनिबार बिहानै अवस्था पुनः बिग्रियो ।

प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएपछि चार/पाँच सयको भीड जम्मा भई ढुंगा हानाहान सुरु भएको बताइएको छ । स्थिति नियन्त्रणबाहिर जान थालेपछि सुरक्षाकर्मीले दर्जनौँ राउन्ड हवाई फायर र ४० राउन्ड अश्रुग्यास प्रहार गरेका थिए । घटनामा दुई प्रहरीसहित आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

झडपका क्रममा केही धार्मिक स्थलमा तोडफोड, पाँच मोटरसाइकल, दुई स्कुटर, एक स्कार्पियो गाडी र एउटा ई–रिक्सामा आगजनी गरिएको प्रहरीले जनाएको छ । क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी छ ।

कर्फ्यू लागू गरिएको क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनासमेत परिचालन गरिएको छ । बजार, शैक्षिक संस्था र यातायात सेवा पूर्ण रूपमा ठप्प छन् ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले हालसम्म २३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिसमेत रहेका छन् । दंगा भड्काएको आरोपमा जनमत पार्टीका नेता शेख जमसेद र गौर–६ का वडाध्यक्ष अवधबिहारी तेलीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

रौतहटमा धार्मिक विषयलाई लिएर झडप भएको यो पहिलो घटना भने होइन । विगतमा पनि विभिन्न बहानामा दुई समुदायबीच विवाद र हिंसात्मक झडप हुँदै आएका छन् ।

गत माघ १२ गते परोहा नगरपालिका–९ रामपुर टोलमा सरस्वतीको मूर्ति विसर्जनका क्रममा झडप हुँदा प्रहरीले हवाई फायर र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो । त्यस्तै, २०८० फागुन ५ गते ईशनाथ नगरपालिका–७ घिउरा टोलमा सरस्वती पूजा पश्चात् मूर्ति सेलाउने क्रममा विवाद चर्किँदा अनिश्चितकालीन कर्फ्यू लगाइएको थियो ।

२०७६ भदौ २६ गते राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायको धार्मिक कार्यक्रमका बेला झडप हुँदा प्रहरीले हवाई फायर गरेको थियो । २०७५ असोज १० गते गरुडा नगरपालिका–९ रघुनाथपुर श्रीपुरमा शव जलाउने विषयमा दुई समूहबीच झडप हुँदा पाँच प्रहरीसहित १७ जना घाइते भएका थिए ।

सीमावर्ती खुला आवतजावत, तीव्र राजनीतिक प्रतिस्पर्धा, चुनावी माहोल र सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट सूचनाले रौतहटमा सामाजिक सद्भाव पटक पटक बिथोलिँदै आएको स्थानीय प्रशासनको बुझाइ छ । कतिपय अवस्थामा स्थानीय नेतृत्वकै उक्साहटले पनि तनाव बढाउने गरेको आरोप लाग्ने गरेको छ ।

रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र यादवका अनुसार आपसी असमझदारी र केही उच्छृंखल व्यक्तिहरूको उक्साहटका कारण यस्ता घटना दोहोरिइरहेका छन् ।

प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएर तत्काल अवस्था नियन्त्रण गर्न सक्ने भए पनि दीर्घकालीन समाधानका लागि समाजका अगुवा, धार्मिक नेतृत्व र राजनीतिक दलहरूले संवाद र सहिष्णुताको वातावरण बनाउनु पर्ने उनले बताए ।

निर्वाचनको मुखमा दोहोरिँदै आएको साम्प्रदायिक तनावले राज्य संयन्त्र, राजनीतिक दल र नागरिक समाज सबैका लागि चुनौती खडा गरेको छ ।