धनुषा जिल्ला प्रशासनका सेवा आंशिक प्रभावित हुने

जनकपुरधाम, १० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण धनुषा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएका केही अत्यावश्यक सेवाहरू आगामी फागुन २१ गतेसम्म आंशिक रूपमा प्रभावित हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तयारी तथा व्यवस्थापन कार्यमा कार्यालयका प्रशासकीय अधिकृतसहित विभिन्न कर्मचारी खटिएकाले नियमित सेवा प्रवाहमा केही असहजता देखिन सक्ने जनाएको छ ।
कार्यालयले जारी गरेको सूचनामा राष्ट्रिय परिचयपत्र, नागरिकता वितरण तथा राहदानी सम्बन्धी सेवाहरू निर्वाचन कार्यक्रम सम्पन्न नहुँदासम्म आंशिक रूपमा प्रभावित हुने उल्लेख गरिएको छ । सेवा लिन आउने सेवाग्राहीहरूलाई सम्भावित ढिलाइबारे पूर्वजानकारी राखी आवश्यक तयारीसहित उपस्थित हुन अनुरोध गरिएको छ ।
निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न कर्मचारीहरू परिचालन गरिएको प्रशासनले स्पष्ट पारेको छ । साथै, अत्यावश्यक सेवाहरूलाई यथासम्भव निरन्तरता दिने प्रयास भइरहेको पनि कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुने तय भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


