जनकपुरधाम, ९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि शनिबार धनुषाको नगराइन नगरपालिका–४ स्थित निर्माणाधीन खानेतेल उद्योग अवलोकनका लागि पुगेका छन् ।

साना किसान कृषि सहकारी संस्थान फुलगामाको ६० प्रतिशत र स्थानीय साझेदारको ४० प्रतिशत संयुक्त लगानीमा स्थापना भइरहेको उक्त उद्योगले स्थानीय कृषिजन्य उत्पादनलाई बजारसँग जोड्ने उद्देश्य राखेको बताइएको छ ।

उद्योग परिसरमा पुगेका नेता निधिलाई सहकारीका पदाधिकारी तथा स्थानीयले स्वागत गर्दै संस्थाबाट उत्पादित खानेतेल उपहारस्वरूप प्रदान गरेका थिए ।

सो अवसरमा निधिले स्थानीय उत्पादनको उपयोग बढाउनुपर्नेमा जोड दिँदै थप पाँच लिटर तेल आफै खरिद गरेर उद्योगलाई प्रोत्साहन गरे ।

अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै निधिले सहकारीमार्फत स्थापना भएका उद्योगले ग्रामीण अर्थतन्त्र बलियो बनाउने बताए । उनले कृषकले उत्पादन गरेको कच्चा पदार्थलाई स्थानीयस्तरमै प्रशोधन गरी बजारमा लैजान सके किसानको आम्दानी वृद्धि हुने र रोजगारीका अवसर पनि विस्तार हुने धारणा राखे ।

‘कृषि र सहकारीलाई उद्योगसँग जोड्न सके गाउँमै आर्थिक गतिविधि बढ्छ,’ उनले भने, ‘स्थानीय उत्पादन प्रयोग गर्ने बानी बसाल्नु आजको आवश्यकता हो । यसले किसान, उद्यमी र उपभोक्ता सबैलाई फाइदा पुर्‍याउँछ ।’

निधिले सहकारी आन्दोलनले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै साना किसान लक्षित कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने बताए ।

उनले उत्पादन, प्रशोधन र बजार व्यवस्थापनलाई एउटै श्रृंखलामा जोड्ने नीति आवश्यक रहेको पनि बताए ।

सहकारी संस्थाका पदाधिकारीले संस्थाको स्थापना कालदेखि नै नेता निधिले नीतिगत र प्रोत्साहनात्मक सहयोग गर्दै आएको बताए ।

स्थानीय स्तरमा उद्योग स्थापना गर्न वातावरण बनाउन तथा सहकारीको पहुँच विस्तारमा उनको योगदान रहेको भन्दै पदाधिकारीहरूले प्रशंसा गरेका थिए ।

संस्थाका अनुसार उद्योग सञ्चालनमा आएपछि स्थानीय कृषकले उत्पादन गर्ने तोरी तथा अन्य तेलबालीको स्थिर बजार सुनिश्चित हुने विश्वास गरिएको छ ।

यसबाट आयातित तेलमा निर्भरता घटाउने र स्थानीय उत्पादनलाई प्राथमिकता दिने लक्ष्य राखिएको जनाइएको छ ।

उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि नगराइन तथा आसपासका क्षेत्रका युवालाई रोजगारी उपलब्ध हुने र किसानले उचित मूल्य पाउने विश्वास स्थानीयले व्यक्त गरे ।

सहकारीमार्फत सञ्चालन हुने उद्योगले उत्पादन, प्रशोधन र बिक्रीको एकीकृत मोडेल विकास गर्ने लक्ष्य लिएको बताइएको छ ।

नेता निधिले स्थानीय उद्योगलाई सफल बनाउन राज्य, सहकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उपभोक्ताले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले यस्ता पहलले गाउँको अर्थतन्त्र चलायमान बनाउने र आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गरे ।