विकासका अधुरा योजना पूरा गर्ने जुलीको प्रतिबद्धता

जनकपुरधाम, ९ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी गतिविधि बढ्दै जाँदा नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले घरदैलो अभियानलाई तीव्र बनाएकी छन् ।
मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले जनकपुरधामको समग्र विकासलाई निरन्तरता दिन पुनः अवसर दिन आग्रह गरेकी छन् ।
महतोले वडा नम्बर–११ मा गरिएको घरदैलो कार्यक्रममा आफू प्रतिनिधिसभा सदस्य रहँदा अघि बढाइएका विकास योजनाहरू कार्यकाल पूरा नहुँदै निर्वाचनमा जानुपर्दा अधुरा रहेको बताइन् । ती योजनाहरूलाई पूर्णता दिन जनताको साथ आवश्यक रहेको उनको भनाइ थियो ।
महतोले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न विशेष पहल गरेको दाबी गर्दै ‘वैवाहिक गन्तव्य स्थल’ को अवधारणा नीति तथा कार्यक्रममा समावेश गराउन आफू सक्रिय रहेको उल्लेख गरिन् ।
धार्मिक पर्यटन प्रवर्द्धनसँगै औद्योगिकीकरण, भौतिक पूर्वाधार विस्तार र रोजगारी सिर्जनामा पनि आफूले जोड दिँदै आएको उनले बताइन् ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाका गुनासा र सुझाव सुन्दै उनले उठेका प्रश्नहरूको जवाफ दिएकी थिइन् । विकासका काममा आफ्नो सक्रियता देखिएकाले आगामी दिनमा पनि मतदाताको साथ रहने विश्वास उनले व्यक्त गरिन् ।
यसैबीच, महतोले नयाँ राजनीतिक दलहरूले स्पष्ट नीति र दृष्टिकोण बिना पुराना दलप्रति असन्तुष्टी फैलाउने प्रयास गरिरहेको आरोप लगाइन् ।
एमाले संविधान रक्षा, राष्ट्रिय स्वाधीनता र विकासको एजेण्डामा प्रतिबद्ध रहेको बताउँदै मधेशको विकासका लागि एमाले नेतृत्वमा विभिन्न योजना अघि बढाइएको उनले स्मरण गराइन् ।
धनुषा–३ का अधुरा विकास योजनालाई सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउँदै महतोले मतदातासँग सहयोग र समर्थनको अपिल गरेकी छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


