जनकपुरधाम, ९ फागुन । फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ ।

क्षेत्रका विभिन्न गाउँ टोलमा दैनिकजसो पार्टी प्रवेश कार्यक्रम आयोजना भइरहेका छन् ।

शनिबार धनुषा–३ अन्तर्गत नगराइन नगरपालिकाको गंगुलीमा आयोजित कार्यक्रममा मात्रै १२५ जनाले विभिन्न राजनीतिक दल परित्याग गर्दै रास्वपामा औपचारिक रूपमा आबद्धता जनाएका छन् ।

नवप्रवेशीहरूलाई पार्टीका केन्द्रीय प्रवक्ता तथा धनुषा–३ का प्रतिनिधिसभा उम्मेदवार मनिष झाले स्वागत गर्दै पार्टीको झण्डा तथा सदस्यता हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै झाले धनुषा–३ मा परिवर्तनको आवाज क्रमशः बलियो बन्दै गएको दाबी गरे । उनले रास्वपाप्रतिको बढ्दो आकर्षणले पुरानो राजनीतिक अभ्यासप्रति जनताको असन्तुष्टि प्रकट गरिरहेको बताए ।

‘मतदाताले अब काम गर्ने नेतृत्व खोजिरहेका छन्, यही कारण नयाँ विकल्पतर्फ जनलहर बढिरहेको छ,’ उनले भने ।

झाका अनुसार विगतमा निर्वाचित प्रतिनिधिबाट अपेक्षित विकास र पारदर्शिता नआएकाले मतदातामा निराशा देखिएको छ ।

यसपटक भने युवादेखि महिला तथा किसानसम्म नयाँ राजनीतिक संस्कारको पक्षमा उभिन थालेको उनको दाबी छ । घरदैलो अभियानका क्रममा नागरिकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको र स्थानीय मुद्दा समाधानमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको उनले जानकारी दिए ।

नगराइनसहित धनुषा–३ का अन्य क्षेत्रमा पनि पार्टी प्रवेश कार्यक्रम निरन्तर भइरहेको र यसले संगठन विस्तारमा सहयोग पुगेको रास्वपाले जनाएको छ ।

स्थानीय तहका पूर्व जनप्रतिनिधि, युवा अभियन्ता तथा विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिहरू पार्टीमा जोडिन थालेपछि चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।

चुनाव नजिकिँदै जाँदा धनुषा–३ मा प्रमुख दलहरूबीच घरदैलो, कोणसभा र संगठन विस्तारका गतिविधि तीव्र बनेका छन् । यस्तो अवस्थामा रास्वपाले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने रणनीति अघि सारेको देखिन्छ ।

झाले पारदर्शिता, सुशासन र स्थानीय विकासलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा होमिएको बताउँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिइरहेको बताएका छन् ।

उनले धनुषा–३ लाई परिवर्तनको नमुना क्षेत्र बनाउने लक्ष्यसहित अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।