रौतहट, ९ फागुन । रौतहटको गौरमा दुई समुदायबीच भएको झडपसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गौर नगरपालिका–६ सवगढा क्षेत्रमा बिहीबार साँझ विवाहका जन्ती बोकेको गाडी मस्जिदको बाटो हुँदै गुज्रिएपछि विवाद सुरु भएको थियो ।

उक्त विवादले चाँडै हिंसात्मक रूप लिएपछि शुक्रबार दिनभर झडप भएको थियो । प्रशासनको पहलमा दुवै पक्षबीच ६ बुँदे सहमति भए पनि शनिबार बिहान पुनः झडप भड्किएको हो ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले जमशेदलाई घरबाटै नियन्त्रणमा लिएको जनाएको छ । उनी जनमत पार्टीका जिल्ला संयोजक तथा सोही वडाका पूर्व वडाध्यक्षसमेत रहेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार घटनामा उनको संलग्नता देखाउने केही प्रमाण फेला परेको दाबी गरिएको छ । यद्यपि प्रशासनले औपचारिक प्रतिक्रिया दिएको छैन ।

लगातार तनाव बढेपछि प्रशासनले गौरसहित आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । झडपका क्रममा करिब १० जना सामान्य घाइते भएका छन् भने २० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । साथै आगजनीबाट सात वटा मोटरसाइकल र एक जीपमा क्षति पुगेको छ ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ५० भन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ राउण्ड हवाइ फायरसमेत गरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिएका छन् ।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच क्षेत्रमा अहिले पनि तनाव कायम रहेको छ भने प्रशासनले नागरिकलाई संयम अपनाउन आग्रह गरेको छ ।