जनकपुरधाम, ९ फागुन । धनुषा क्षेत्र नम्बर–३ केन्द्रित गतिविधि अघि बढाउँदै राष्ट्रिय मुक्ति पार्टी धनुषाले आगामी निर्वाचनलाई लक्षित गर्दै १३ बुँदे साझा विकास एजेन्डा सार्वजनिक गरेको छ ।

पार्टीले जनहित र क्षेत्रीय विकासलाई प्राथमिकतामा राख्दै ती एजेन्डामा लिखित सहमति जनाउने उम्मेदवार वा दललाई समर्थन गर्ने निर्णय गरेको जनाएको छ ।

पार्टीले जारी गरेको विशेष निर्वाचन सम्बोधन तथा समर्थन घोषणा पत्रमा लोकतन्त्र, नागरिक अधिकार र राष्ट्रियताको संरक्षणका लागि बलिदान दिएका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मधेश, आदिवासी–जनजाति, दलित, मुस्लिम समुदाय, महिला र युवाको साझा आकांक्षालाई केन्द्रमा राखेर विकासको खाका अघि सारिएको उल्लेख गरिएको छ ।

घोषणा पत्रमा नगराइन नगरपालिकास्थित जटहीमा शहीद दुर्गानन्द झा स्मृति अस्पताल (१०० शैया) निर्माण, प्रादेशिक बाल अस्पताल तथा प्रसूति गृह स्थापनालाई सरकार गठनपछि तत्काल प्राथमिकतामा राख्नुपर्ने माग गरिएको छ ।

यस्तै वर्षौंदेखि चर्चामा रहेको राजर्षि जनक विश्वविद्यालयको निर्माण कार्यलाई तीव्रता दिनुपर्ने एजेन्डा पनि समेटिएको छ ।

घोषणा पत्रमा बेपत्ता पारिएका चिकित्सक डा. लक्ष्मी नारायण झाको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । साथै ग्रामीण क्षेत्रमा दलित समुदायका लागि नमुना आवासीय कार्यक्रम ल्याउनुपर्ने, सामाजिक न्यायलाई विकाससँग जोड्नुपर्ने उल्लेख गरिएको छ ।

पार्टीले धनुषामा बहुउद्देश्यीय खेल पूर्वाधार निर्माणका लागि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला लाई ‘मेगा प्रोजेक्ट’ का रूपमा अघि बढाउन सबै सांसदको साझा पहल आवश्यक रहेको जनाएको छ ।

त्यसैगरी, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने, धार्मिक पोखरीहरूको संरक्षण तथा जनकपुरधामलाई सफा सुन्दर नमुना सहर बनाउने योजना सार्वजनिक गरिएको छ ।

घोषणा पत्रमा जनकपुरधाम विमानस्थल स्तरोन्नति गरी क्षेत्रीय अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने उल्लेख छ । यसले पर्यटन प्रवर्द्धनसँगै वैदेशिक रोजगारीमा जाने नागरिकको समय र खर्च बचत हुने पार्टीको दाबी छ ।

त्यस्तै, जटही भन्सारलाई स्तरोन्नति गरी सुक्खा बन्दरगाहका रूपमा विकास गर्ने तथा जानकी चक्रपथ निर्माण पूरा गर्नुपर्ने माग पनि राखिएको छ ।

ग्रामीण उद्योग ग्राम स्थापना गरी कम्तीमा ५०० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, तिरहुतिया गाछी क्षेत्रलाई बोटानिकल गार्डनका रूपमा विकास गर्ने तथा स्थानीय उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने योजना घोषणा पत्रमा समेटिएको छ ।

भ्रष्टाचारमुक्त प्रशासन, प्रत्येक पालिकामा महिला उद्यम कोष र युवाका लागि स्टार्टअप अनुदानको व्यवस्था गर्नुपर्ने माग पनि पार्टीले अघि सारेको छ ।

पार्टीका अनुसार प्रस्तुत १३ बुँदे एजेन्डा धनुषा–३ को समृद्धि, मधेशको सम्मान र राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको विषय भएकाले ती एजेन्डामा लिखित प्रतिबद्धता जनाउने उम्मेदवार वा दललाई आगामी निर्वाचनमा पूर्ण समर्थन गरिनेछ ।

घोषणा पत्रमा ‘शहीदको सपना, समृद्ध क्षेत्र र सम्मानित नागरिक’ भन्ने नारासहित सुशासन, विकास र समावेशी पहिचानलाई चुनावी केन्द्रबिन्दु बनाइएको उल्लेख गरिएको छ ।

पार्टीले क्षेत्रीय आवश्यकता र जनअपेक्षालाई प्राथमिकतामा राखेर साझा सहकार्यमार्फत विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।