जनमतका युवालाई गाउँगाउँ पुगेर चुनावी निगरानी गर्न राउतको निर्देशन

सप्तरी, ९ फागुन । जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो निर्वाचन क्षेत्रमा युवा कार्यकर्तालाई लक्षित गर्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका छन् ।
प्रशिक्षणका क्रममा उनले पार्टीलाई जिताउन कार्यकर्ताले सिपाहीको रूपमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
राउतले सप्तरीमा अव्यवस्था र गुण्डागर्दीको अवस्था रहेको दाबी गर्दै त्यसको अन्त्यका लागि जनमत पार्टीको विजय आवश्यक रहेको बताए ।
चुनावी अभियानलाई प्रभावकारी बनाउन गाउँगाउँमा पुगेर मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउन उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रशिक्षणमा उनले चुनावी अवधिभर मोटरसाइकलमार्फत गाउँस्तरमा गस्ती गर्न तथा अन्य दलबाट हुन सक्ने प्रलोभन रोक्न सचेत रहन आग्रह गरे ।
मतदातालाई माछामासु, पैसा वा अन्य सामग्री दिएर प्रभाव पार्ने प्रयास हुन सक्ने भन्दै त्यस्ता गतिविधि निगरानी गर्न उनले कार्यकर्तालाई सचेत गराए ।
त्यस्तै, पार्टीका विभिन्न कार्यक्रमबारे जनतालाई जानकारी गराउन पनि उनले निर्देशन दिए ।
जनमतले युवालाई रोजगारी, महिलाका लागि रोजगार अवसर तथा स्वयंसेवक शिक्षक भर्नाजस्ता योजनालाई प्राथमिकतामा राखेको भन्दै त्यसबारे घरदैलोमा जानकारी पुर्याउन आग्रह गरिएको छ ।
निर्वाचनको दिन मतदातालाई मतदान केन्द्रसम्म पुग्न सहयोग गर्नुपर्ने बताउँदै राउतले अन्य दलले मतदातालाई प्रभावित पार्ने प्रयास गर्न सक्ने भएकाले त्यसतर्फ सतर्क रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


