राजविराजमा जनमत पार्टीका जेनजी युवाको शक्ति प्रदर्शन

सप्तरी, ९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सप्तरी–२ मा चुनावी गतिविधि तीव्र बनेको छ ।
यसैबीच जनमत पार्टी आबद्ध जेनजी युवाले शनिबार राजविराजमा शक्ति प्रदर्शन गरेका छन् ।
राजदेवी मैदानबाट सुरु भएको युवाहरुको प्रदर्शन नगरका मुख्य बजार क्षेत्र परिक्रमा गर्दै सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागी युवाले पार्टीको पक्षमा नाराबाजी गर्दै चुनावी माहोल तताएका थिए ।
प्रदर्शनअघि पार्टी अध्यक्ष सीके राउतले युवाहरुलाई चुनावलक्षित प्रशिक्षण दिएका थिए ।
उनले निर्वाचनका बेला बुथ व्यवस्थापन, मतदातासँग समन्वय तथा सुरक्षामा सक्रिय भूमिका निर्वाह गर्न युवा दस्तालाई निर्देशन दिएका थिए ।
अध्यक्ष राउतले पार्टीभित्र देखिएका असमझदारीलाई तत्कालका लागि थाँती राखेर निर्वाचन जित्ने लक्ष्यमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरे ।
उनले जनताको अधिकार स्थापित गर्ने आफ्नो एजेन्डाबाट पार्टी पछि नहट्ने उल्लेख गर्दै गरिब, दलित, मुस्लिम तथा सिमान्तकृत समुदायको पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पार्टी नेता महेश यादवले रोजगारीलाई केन्द्रमा राखेर अघि सारेको जनमतको चुनावी मुद्दा अन्य दलले पनि अपनाउन थालेको दाबी गरे ।
उनले विकास र निकासलाई नै पार्टीको प्रमुख एजेन्डा रहेको स्पष्ट पार्दै आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।
सप्तरी–२ मा शीर्ष नेताहरु उम्मेदवार रहेकाले चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ भने विभिन्न दलले युवामुखी अभियानलाई तीव्र बनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


