रौतहट, ९ फागुन । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरिएको हो ।

जिल्ला प्रशासनका अनुसार कर्फ्यु लागू भएका क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ ।

आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख छ ।

कर्फ्युको सीमा पूर्वतर्फ मुडवलवा गेट, पश्चिममा ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्म निर्धारण गरिएको प्रशासनले जनाएको छ ।

गौर नगरपालिका–६ सबगढामा दुई समुदायबीच पुनः झडप भएपछि अवस्था तनावग्रस्त बनेको हो ।

प्रशासनको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भए पनि शनिबार बिहान करिब ९ बजेदेखि ढुङ्गामुढा सुरु भई स्थिति पुनः बिग्रिएको थियो ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी प्रमुख सिताराम रिजाल तथा सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीसहित सुरक्षा अधिकारीहरू खटिएका छन् ।

प्रशासनले सर्वसाधारणलाई संयमित रहन, अफवाहमा नलाग्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ ।

स्थिति सामान्य नहुँदासम्म कर्फ्यु कायम रहने जनाइएको छ ।