सर्लाही, ९ फागुन । सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सक्रिय रहेका सिंहलाई कांग्रेसका सभापति गगनकुमार थापाले औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन् ।

सिंहको निजी निवासमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय नेताहरू तथा जिल्ला तहका अगुवाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा निवर्तमान जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलगायत नेताहरू सहभागी थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका सिंहले ४ हजार ३ सय २७ मत प्राप्त गरेका थिए ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा भने राजपाको विभाजनपछि लोसपाबाट मेयरका प्रत्याशी बनेका उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामाशंकर कुशवाहासँग १ हजार १२ मतान्तरले पराजित भएका थिए ।

यसअघि सर्लाही–४ का लोसपा नेता तथा पूर्व संविधानसभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायत दर्जनौं नेता कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

पछिल्ला प्रवेशले सर्लाही–४ मा कांग्रेसको संगठनात्मक आधार थप सुदृढ बन्दै गएको स्थानीय नेताहरूको दाबी छ ।