धनुषा–३ मा जसपा नेपालका परमेश्वर साहको घरदैलो अभियान तीव्र

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा परमेश्वर साहले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार साहले शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ३ र २५ मा मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् ।
घरदैलोका क्रममा साहले पार्टीको चुनाव चिह्न ‘छाता’मा मतदान गरी आफूलाई विजयी बनाउन आग्रह गरे ।
उनले जनताको आवाज, पहिचान र अधिकारलाई सशक्त बनाउन आफू उम्मेदवारी लिएर मैदानमा उत्रिएको बताउँदै स्थानीय विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साहले शिक्षा, स्वास्थ्य सेवा सुधार, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आफ्ना योजनाबारे मतदातालाई जानकारी गराएका थिए ।
जनताको आवश्यकता र आकांक्षाअनुसार सबै वडामा समान रूपमा विकासका कार्यक्रम अघि बढाइने उनको भनाइ थियो ।
‘समृद्धि हासिल गर्न अब हामी एकजुट हुनुपर्छ,’ उनले जोड दिँदै धनुषा–३ को समग्र विकासका लागि साझा प्रयास आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी मतदाताले साहसँग विभिन्न विषयमा प्रश्न गर्दै उनका योजनाबारे चासो व्यक्त गरेका थिए । विशेषगरी महिला तथा युवाले शिक्षा र रोजगारीसम्बन्धी स्पष्ट योजनाप्रति उत्साह देखाएको स्थानीयले बताए ।
घरदैलो अभियानलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण माध्यम बताउँदै साहले प्रत्यक्ष भेटघाटबाट प्रत्येक परिवारको समस्या बुझ्न र समाधानका उपाय प्रस्तुत गर्न सहज हुने विश्वास व्यक्त गरे ।
उनका अनुसार जनताको सहभागिता नै अभियानको मुख्य आधार रहनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


