जनकपुरधाम, ८ फागुन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२’ सम्पन्न भएको छ ।

मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा विद्यालय तहका विद्यार्थीको उल्लेख्य सहभागिता देखिएको आयोजकले जनाएको छ ।

महोत्सव मैथिली विकास कोषको आयोजना तथा मधेश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेश, जनकपुरधाम उपमहानगरपालिका र राजर्षि जनक विश्वविद्यालयलगायतका निकायको सह–आयोजनामा सम्पन्न भएको हो ।

चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा मैथिली संस्कृतिप्रति युवा पुस्तालाई जोड्ने लक्ष्यसहित विद्यालय केन्द्रित गतिविधिहरूलाई प्राथमिकता दिइएको थियो ।

कार्यक्रमअन्तर्गत जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी सहभागी भई नृत्य, वक्तृत्व, चित्रकला तथा कविता प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीहरूलाई दोसल्ला ओढाएर शिल्ड, कप, नगद तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्ण र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहलगायतले विजेताहरूलाई सम्मान गर्दै यस्ता कार्यक्रमले भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

समापन समारोह कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कोषका सदस्य नित्यानन्द मण्डल, सदस्य सचिव श्यामसुन्दर शशी तथा पूर्वमन्त्री रामसरोज यादवलगायतले महोत्सवको उपलब्धि र यसको दीर्घकालीन प्रभावबारे धारणा व्यक्त गरेका थिए ।

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा नेपाल र भारतका मैथिली भाषा, साहित्य, संस्कृतिका विद्वान, कलाकार तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर २० वटा समसामयिक विषयमा विमर्श तथा अन्तरक्रिया पनि सञ्चालन गरिएको थियो ।

मैथिली विकास कोषले यसअघि २०७३, २०७५, २०७८ र २०८० सालमा पनि अन्तर्राष्ट्रिय नाट्य महोत्सव आयोजना गरिसकेको छ ।

यस वर्षको संस्करणलाई अझ व्यवस्थित र सहभागितामूलक बनाउँदै युवामैत्री गतिविधिमा जोड दिइएको आयोजकको भनाइ छ ।

महोत्सवका सम्पूर्ण कार्यक्रमहरू कोषको आफ्नै भवन परिसर, जनकपुरधाम वडा नं. ८ सीताकुण्ड क्षेत्रमा सम्पन्न भएको हो ।