युवालाई दुर्व्यसनबाट टाढा राख्ने सन्देशसहित मनिष झा–ज्ञानेन्द्र मल्ल आमनेसामने

जनकपुरधाम, ८ फागुन । मधेश प्रदेशमा किशोर किशोरी दुर्व्यसनतर्फ आकर्षित भइरहेका बेला त्यसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले जनकपुरधाममा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनिष झाको पहलमा भएको खेलमा मनिष झा–११ र ज्ञानेन्द्र मल्ल–११ बीच प्रतिस्पर्धा भएको हो ।
जनकपुरधामस्थित रंगभूमि मैदानमा शुक्रबार आयोजित प्रतियोगिता हार जीतका लागि नभई सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यले गरिएको आयोजकले जनाएको छ ।
उम्मेदवार झाले युवाहरू कुलतमा नफसोस् र परिवर्तनको आवाज मतदातासम्म पुर्याउन खेलकुदमार्फत अभियान अघि बढाइएको बताए ।
उनका अनुसार खुला सीमाका कारण धनुषा मात्र नभई मधेशभरका युवामा लागूपदार्थ दुर्व्यसनको जोखिम बढ्दै गएको छ ।
‘हामी ‘से नो टु ड्रग्स’को सन्देशसहित खेल मैदानमा उत्रिएका छौं,’ उनले भने, ‘यसले युवालाई खेलतर्फ आकर्षित गर्दै दुर्व्यसनबाट टाढा राख्न मद्दत पुर्याउने अपेक्षा गरेका छौं ।’
उम्मेदवार झालाई समर्थन गर्न पूर्वराष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका मल्ल बिहीबार साँझ जनकपुर आइपुगेका थिए ।
हाल राष्ट्रिय टोलीको उप–प्रशिक्षकको भूमिकामा रहेका मल्लले खेलकुदमार्फत सकारात्मक सन्देश फैलाउनु आवश्यक रहेको बताए ।
मल्लको उपस्थितिलाई अवसरका रूपमा लिएर झाको सचिवालयले मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।
खेलमा मल्लले एक टोलीको नेतृत्व गरेका थिए भने झाले अर्को टोलीको नेतृत्व गर्दै खेल मैदानमा उत्रिएका थिए ।
आयोजकका अनुसार यस्तो कार्यक्रमले चुनावी प्रतिस्पर्धाभन्दा बाहिर सामाजिक मुद्दामा जनचेतना बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


