सप्तरीमा ७ वर्षीया बालिकाको सकुशल उद्धार, फिरौती माग्ने युवक पक्राउ

सप्तरी, ८ फागुन । सप्तरीमा अपहरणमा परेकी एक बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ भने घटनामा संलग्न एक युवकलाई पक्राउ गरेको छ ।
खड्क नगरपालिका–८ बिसनपुर निवासी ७ वर्षीया नेहा खातुनलाई अपहरणबाट मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बालिकालाई अपहरण गरी फिरौती माग्ने आरोपमा खड्क नगरपालिका–९ लालपट्टीका ३० वर्षीय इम्तियाज अहमदलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षक संजीब बोगटी र प्रहरी चौकी बिसनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्र प्रसाद यादवको कमाण्डमा खटिएको संयुक्त टोलीले बिहीबार साँझ रुपनी गाउँपालिका–१ स्थित खाँडो क्षेत्रबाट अभियुक्तलाई पक्राउ गरेको हो ।
सोही स्थानबाट बालिकाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले बताएका छन् ।
मंगलबार साँझ घरबाट हराएकी बालिकाको खोजीका लागि परिवारले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो ।
अनुसन्धानका क्रममा अभियुक्त इम्तियाजले बालिकाका बुवा इमरान खानलाई फोन गरी फिरौती रकमसहित रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा आउन भनेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अहमदलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


