रौतहट, ८ फागुन । गौर नगरपालिका–६ सबगढा गाउँमा दुई समुदायबीच झडप हुँदा क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

बिहीबार राति भएको भनाभनपछि शुक्रबार बिहानदेखि पुनः झडप चर्किएको हो ।

स्थानीयका अनुसार हिन्दू समुदायको विवाह समारोहमा बाजागाजा बजाउँदै जन्ती सबगढा पुगेको थियो । सोही समयमा गाउँस्थित मस्जिदमा मुस्लिम समुदायले नमाज पढिरहेको बेला बाजा बजाइएको विषयलाई लिएर विवाद सुरु भएको बताइएको छ ।

प्रारम्भिक भनाभनपछि केही व्यक्तिमाथि कुटपिट भएको र त्यसैको प्रभावले शुक्रबार बिहान दुई पक्षबीच ढुङ्गा हानाहानसम्म पुगेको स्थानीय स्रोतले जनाएको छ ।

घटनापछि गाउँमा तनाव बढेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटनाको पुष्टि गर्दै सुरक्षा निकायका उच्च अधिकारीहरू घटनास्थल पुगेको जानकारी दिएका छन् ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सिताराम रिजाल तथा सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित करिब साढे दुईसयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

समाचार तयार पार्दासम्म स्थिति नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रशासनले जनाएको छ ।

स्थानीयलाई संयमता अपनाउन आग्रह गर्दै थप अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको छ ।