जनकपुरधाम, ८ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र बनेको बेला आचारसंहिता विपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री प्रशासनले हटाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको हो ।

प्रशासनका अनुसार सार्वजनिक स्थल, विद्युतका पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिता विपरीत टाँसिएका सामग्री हटाइएको छ ।

निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री स्वयं हटाउन निर्देशन दिएको थियो ।

तर, तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासन आफैं खटेर शुक्रबार करिब २० हजार प्रचार सामग्री हटाएको जनाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जनकपुरधामका विभिन्न स्थानमा जथाभावी टाँसिएका प्रचार सामग्रीले शहरको सौन्दर्यमा असर परेको र निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै कारबाहीस्वरूप हटाइएको बताए ।

उनका अनुसार अब पुनः यस्ता सामग्री टाँसे कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

प्रशासनका अनुसार पछिल्ला दिनमा उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाउने क्रममा धनुषाका विभिन्न स्थानमा पर्चा, पम्पलेट अत्यधिक मात्रामा प्रयोग गरिएको पाइएको थियो ।

विशेष गरी मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ताहरू र सरकारी संरचनामा आचारसंहिता विपरीत सामग्री टाँसिएको भेटिएको थियो ।

निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाउन र शहरलाई सफा राख्न प्रशासनले निगरानी बढाएको जनाएको छ । स्थानीय तह, प्रहरी र सरोकारवाला निकायको समन्वयमा अनुगमन जारी रहेको प्रशासनको भनाइ छ ।

यसैबीच, निर्वाचन नजिकिँदै जाँदा दल र उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो तथा सभामार्फत प्रचारमा सक्रिय भएका छन् । तर, प्रचारप्रसार गर्दा आचारसंहिताको पालना गर्न प्रशासनले पुनः आग्रह गरेको छ ।

प्रशासनले अबदेखि नियमविपरीत सामग्री टाँसिए तत्काल हटाइने र सम्बन्धित उम्मेदवार तथा दललाई आवश्यक कारबाही गरिने स्पष्ट पारेको छ ।

चुनावी वातावरण स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिने प्रशासनको प्रतिबद्धता छ ।