जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार मनिष झाले आफ्नो क्षेत्रमा चुनावी पोस्टर नटाँस्ने घोषणा गरेका छन् ।

शहरलाई स्वच्छ र सुन्दर राख्ने उद्देश्यले उनले पोस्टरविहीन प्रचार अभियान अघि बढाउने निर्णय गरेका हुन् ।

झाले आफू राजनीतिक अभ्यासमार्फत देश र नगरलाई सुन्दर बनाउने लक्ष्य राखेको उल्लेख गर्दै प्रचारप्रसारकै नाममा शहर कुरूप बनाउनु उपयुक्त नहुने बताएका छन् ।

उनले आफ्ना पार्टी कार्यकर्तालाई धनुषा क्षेत्र नम्बर ३ भित्र कुनै पनि स्थानमा पोस्टर वा भित्ते लेखन नगर्न स्पष्ट निर्देशन दिएका छन् ।

उनका अनुसार निर्वाचन अभियान सभ्य, व्यवस्थित र वातावरणमैत्री हुनुपर्ने आवश्यकता बढ्दै गएको छ । उनले अन्य राजनीतिक दल र उम्मेदवारलाई समेत प्रचार सामग्री प्रयोग गर्दा शहरको सौन्दर्य र सरसफाइलाई ध्यान दिन आग्रह गरेका छन् ।

झाको निर्णयलाई स्थानीयवासी, नागरिक समाज र विभिन्न संघसंस्थाले सकारात्मक रूपमा लिएका छन् । स्वच्छ र जिम्मेवार राजनीतिक संस्कार विकासका लागि यस्तो पहल प्रभावकारी हुने धारणा व्यक्त गरिएको छ ।