जनकपुरधाम, ८ फागुन । नागरिक लगानी कोषले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आफ्नो शाखा विस्तार गरेको छ ।

सेवा विस्तारसँगै स्थानीय सदस्यहरूलाई वित्तीय सेवामा सहज पहुँच हुने विश्वास लिइएको छ ।

कोषले सदस्यहरूलाई छिटो छरितो सेवा प्रदान गर्ने, वित्तीय पहुँच बढाउने तथा संघीय संरचना अनुरूप सेवा विकेन्द्रीकरण गर्ने उद्देश्यले जनकपुरधाममा शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

यसअघि खाता खोल्ने, रकम जम्मा गर्ने वा सापटी लिनेलगायत सेवा लिन काठमाडौं धाउनुपर्ने बाध्यता अब कम हुने विश्वास गरिएको छ ।

केन्द्रीय कार्यालय बानेश्वरमा रहेको कोषले जनकपुरधामलाई छैटौं शाखाका रूपमा विस्तार गरेको हो ।

शाखा सञ्चालनपछि स्थानीय सदस्यहरूले आवश्यक वित्तीय सेवा आफ्नै क्षेत्रमा पाउने भएकाले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

यसअघि कोषले पोखरा, सुर्खेत, बुटवल, अत्तरिया र विराटनगरमा शाखा स्थापना गरिसकेको छ ।

देश संघीय संरचनामा अघि बढिसकेको अवस्थामा शाखा कार्यालयहरूलाई प्रादेशिक कार्यालयको मान्यता दिनुपर्ने माग कोषका कर्मचारीहरूले उठाएका छन् ।

उनीहरूले सेवा प्रभावकारिता बढाउन तथा प्रदेशस्तरमै निर्णय प्रक्रियालाई सुदृढ बनाउन यस्तो व्यवस्था आवश्यक रहेको बताएका छन् ।