एमाले र जनमतका नेता कार्यकर्ता कांग्रेसमा, निधिको अभियान तीव्र

जनकपुरधाम, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधि यतिबेला घरदैलो अभियानमा सक्रिय भएका छन् ।
निर्वाचन नजिकिँदै जाँदा उनले गाउँ टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै कांग्रेसका नीति, कार्यक्रम तथा भावी योजनाबारे जानकारी गराइरहेका छन् ।
यसैक्रममा धनौजी गाउँपालिका–४ मा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला सदस्य इन्जिनियर रामसागर साहसहित दर्जनभन्दा बढी नेता कार्यकर्ताले नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनीहरूले आगामी निर्वाचनमा निधिलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कांग्रेस प्रवेश गर्ने नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र र संविधानको रक्षा तथा क्षेत्रको समग्र विकासका लागि कांग्रेस उपयुक्त विकल्प भएको धारणा राखेका छन् ।
उनीहरूले निधिको अनुभव, नेतृत्व क्षमता र विकासप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको बताए ।
कार्यक्रममा बोल्दै उम्मेदवार निधिले पार्टी प्रवेश गर्ने सबैलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै विभिन्न दलबाट आएका नेता कार्यकर्तालाई सम्मानका साथ जिम्मेवारी दिइने बताए ।
उनले सबैलाई एकताबद्ध भएर क्षेत्रको विकासका लागि अघि बढ्न आह्वान गरे ।
‘जनताको भरोसा र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो,’ भन्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याए ।
यस अवसरमा एमाले परित्याग गरेर दर्जनभन्दा बढी तथा जनमत पार्टीबाट चार जनाले समेत पार्टी त्याग गरी कांग्रेस प्रवेश गर्दै निधिलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


