धनुषा–३ मा अधुरा योजना पूरा गर्ने प्रतिबद्धतासहित मत माग्दै जुली

जनकपुरधाम, ७ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिएकी नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले आफूले अघि बढाएका विकास योजनाहरू पूरा गर्न मतदाताले पुनः अवसर दिने विश्वास व्यक्त गरेकी छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवा र वडा नम्बर १५ रामपुरमा घरदैलो अभियानका क्रममा स्थानीयसँग भेटघाट गर्दै उनले यस क्षेत्रको विकासका लागि सुरु गरिएका कतिपय योजना कार्यकाल पूरा नहुँदै निर्वाचनमा जानुपर्ने परिस्थिति बनेकाले अधुरा काम सम्पन्न गर्न मतदाताको साथ आवश्यक रहेको बताइन् ।
महतोले घरदैलोका क्रममा स्थानीय मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको दाबी गर्दै पूर्वाधार, पर्यटन तथा औद्योगिक विकाससँग सम्बन्धित योजनाहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले विकासका लागि दीर्घकालीन नीति र स्पष्ट दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै नयाँ दलहरूले पुराना दलप्रति वितृष्णा फैलाउने प्रयास गरिरहेको आरोपसमेत लगाइन् ।
संविधानको रक्षा र राष्ट्रिय स्वाधीनताको पक्षमा एमाले निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै उनले मतदाताले पार्टीको भूमिकाबारे राम्रोसँग बुझेकाले पुनः एमाले नेतृत्वकै सरकार चाहिरहेको बताइन् ।
महतोका अनुसार एमाले नेतृत्वको सरकारले मधेस क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नेपाल रेलको स्तरोन्नति, सुनकोशी–मरिन–कमला डाइभर्सन योजना तथा जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजनाहरू अघि बढाएको छ ।
ती कार्यक्रमबारे स्थानीय मतदाता जानकार रहेकाले आगामी निर्वाचनमा पुनः एमालेप्रति समर्थन देखिने उनले दाबी गरिन् ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


