राजदेवी मन्दिर मूर्ति चोरी प्रकरणः जेलबाट फरार दुई अभियुक्त पुनः पक्राउ

जनकपुरधाम, ७ फागुन । धनुषाको रमदैया भवाडीस्थित धार्मिक आस्थाको केन्द्र मानिने राजदेवी मन्दिरमा भएको मूर्ति चोरी प्रकरणमा जेलबाट फरार भएका दुई अभियुक्तलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
प्रहरीका अनुसार २०७९ साल फागुन १४ गते मध्यराति मन्दिरको ताला तोडी चाँदी र सुनका गरगहनासहित राजदेवीको मूर्ति चोरी गरेको आरोपमा पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएर जेल चलान गरेको थियो । तर, गत भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा जलेश्वर कारागारबाट केही दोषी फरार भएका थिए ।
सोही घटनामा फरार रहेका मो. नसरुद्दिन र मो. सरिफलाई बिहीबार बिहान क्षीरेश्वरनाथ नगरपालिका–५ कुचाई टोलबाट पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू आन्दोलनको मौका पारेर जेलबाट भागी महेन्द्रनगरस्थित एक घरमा बस्दै आएका थिए ।
मन्दिर निर्माणसँग सम्बन्धित धीरज यादवले फरार अभियुक्तहरू घर फर्किएको जानकारी पाएपछि प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि प्रहरी टोलीले निगरानी बढाएर उनीहरूलाई पुनः नियन्त्रणमा लिन सफल भएको हो ।
उक्त चोरी घटनामा यसअघि सात जना संलग्न रहेको खुलेको थियो । उनीहरूले मन्दिरबाट राजदेवीको चाँदीको मूर्ति, मुकुट, थाली, घण्टी, लोटा लगायत चाँदीका सामग्री तथा सुनका गरगहना चोरी गरेका थिए ।
चोरी भएको अधिकांश सामग्री प्रहरीले बरामद गरेको जनाएको छ ।
घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


