परमेश्वर साहको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

जनकपुरधाम, ७ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा जसपा नेपालका उम्मेदवार परमेश्वर साहले बिहीबार धनौजी गाउँपालिका वडा नं. ३ र ४ मा घरदैलो कार्यक्रम आयोजना गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् ।
उम्मेदवार साहले मतदातासँगको कुराकानीमा छाता छापमा मतदान गरी आफूलाई विजयी बनाउन आग्रह गर्दै भने, ‘छाता छापमा मतदान गरौँ, जनताको आवाज र पहिचानलाई बलियो बनाऔँ । म यहाँ तपाईंहरूको अधिकार, पहिचान र समृद्धिको पक्षमा काम गर्ने प्रतिबद्धता लिएर आएको छु । हाम्रो साझा प्रयासले मात्र धनुषा–३ को विकास सुनिश्चित गर्न सक्छ ।’
साहले आफ्नो कार्यक्रममा स्थानीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना जस्ता प्रमुख विषयहरूमा मतदातालाई आफ्नो योजनाबारे जानकारी दिएका थिए ।
उनले जोड दिँदै भने, ‘जनताको आवश्यकता र आकांक्षालाई सर्वोपरि राख्दै सबै वडामा विकासको कार्य अघि बढाइनेछ । अब हामी एकजुट भएर मात्र समृद्धि हासिल गर्न सक्छौं ।’
कार्यक्रममा सहभागी मतदाताहरूले साहको योजनाबारे चासो देखाउँदै प्रत्यक्ष प्रश्न सोधेका थिए । स्थानीय महिला र युवा वर्गले विशेष गरी शिक्षा र रोजगारी सिर्जना सम्बन्धी पहलमा उम्मेदवार साहको स्पष्ट दृष्टिकोणप्रति उत्साह व्यक्त गरेका थिए ।
घरदैलो अभियानका क्रममा साहले समुदायमा मतदातासँग प्रत्यक्ष भेटघाटलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण भाग भन्दै यसको महत्त्वलाई जोड दिए ।
उनले भने, ‘घरदैलोमार्फत हामी प्रत्येक परिवारको समस्या बुझ्न र समाधानका उपायहरू प्रस्तुत गर्न सक्षम हुनेछौं । जनताको सहभागिता हाम्रो अभियानको मूल आधार हो ।’






















तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


