सर्लाही, ७ फागुन । सर्लाहीको सदरमुकाम मलङ्गवामा बिहीबार पेस्तोल खेल्ने क्रममा एक बालक घाइते भएका छन् ।

मलङ्गवा नगरपालिका–४ निवासी १५ वर्षीय आकाश रामको दाहिने हातको पञ्जामा गोली लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

प्रहरीका अनुसार ढाकाबोर्डरस्थित निर्माणाधीन हनुमान मन्दिरको कुनामा रातो कपडामा बेरिएको वस्तु खोली हेर्दा पेस्तोल भेटिएको थियो । सो पेस्तोल नक्कली होला भन्ने अनुमान गर्दै खेलाउने क्रममा पड्किँदा बालक घाइते भएका हुन् ।

घाइते बालकको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यो घटनाले मलङ्गवामा सुरक्षा सम्बन्धी चिन्ता बढाएको छ ।

गत आइतबार मात्र मलङ्गवामा अज्ञात व्यक्तिले गोली प्रहार गरि भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इञ्जिनियर प्रमोदकुमार यादवको हत्या गरेका थिए ।