जनकपुरधाम, ७ फागुन । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा जिल्लामा नामकरण दर्ता गराएका १५८ उम्मेदवारमध्ये ४३ जनाले मात्र बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय धनुषाका सूचना अधिकारी कृष्णकुमार राउतका अनुसार धनुषा–३ मा ४५, धनुषा–१ मा ४२, धनुषा–४ मा ३७ र धनुषा–२ मा ३४ उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।

निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव खर्च बैंक वा वित्तीय संस्थामार्फतै गर्न निर्देशन दिएको छ ।

राउतका अनुसार अहिलेसम्म ४३ जनाले मात्र बैंक खाता खोल्न सिफारिस लिएका छन् ।

आयोगले २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेको छ ।

निर्वाचन खर्च व्यवस्थापनका लागि आयोगले जारी गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ अनुसार उम्मेदवारले क्षेत्र अनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।

निर्वाचनपछि खर्च विवरण आयोगमा बुझाउनु पर्ने प्रावधान रहेको हुँदा बैंक खाता नखोलेका उम्मेदवारले कानुनी जटिलतामा पर्न सक्ने खतरा छ ।

आयोगले बैंक खाता नखोली गरिएको खर्चलाई मान्यता नदिने जनाएको छ ।