जनकपुरधाम, ७ फागुन । जनकपुरधामस्थित मोनाष्टिक इंगलिश बोर्डिङ स्कुलले विद्यार्थीहरुको सर्वाङ्गिन विकासको अभिप्रायले एक दिने कला र साहित्य उत्सवको आयोजना गरेको छ ।

स्कुलले यस कार्यक्रममार्फत विद्यार्थीहरुलाई आफ्नो कला, भाषा र साहित्यिक प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै सांस्कृतिक चेतनालाई पनि प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

स्कुलका म्यानेजिङ्ग डाइरेक्टर डा. सोनु साहले उत्सवमा कक्षा १ देखि कक्षा ७ सम्मका छात्र छात्राहरु सहभागी भएको जानकारी दिए ।

उनले भने, ‘हाम्रो मुख्य उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सिमित नगरी नेपाली र अंग्रेजी भाषामा आफ्नो कला र साहित्यिक क्षमतालाई प्रकट गर्ने अवसर प्रदान गर्नु हो । साथै उनीहरुमा स्थानीय भाषा मैथिली र संस्कृतिप्रति प्रेम र समझ बढाउन पनि कार्यक्रमले सहयोग गर्छ ।’

उत्सवमा विद्यार्थीहरुले मैथिली कला, परम्परागत पहिरन, भोजन, संस्कृति तथा साहित्य प्रस्तुत गरेका थिए । त्यस्तै, धार्मिक र पौराणिक विषयलाई समेत प्रस्तुतिमा समावेश गरिएको थियो ।

छात्रछात्राहरुले भगवान बुद्धसँग सम्बन्धित विषय, सीतारामसँग सम्बन्धित स्थल तथा अन्य सांस्कृतिक सम्पदासँग सम्बन्धित प्रस्तुति प्रस्तुत गरेका थिए ।

साहले यस किसिमका कला र साहित्य उत्सवले विद्यार्थीहरुमा एकेडमिक ज्ञान मात्र नभई मानसिक, सांस्कृतिक र सामाजिक विकासमा पनि योगदान पुर्याउने दाबीसमेत गरे ।

‘किशोर किशोरीहरुमा घट्दै गएको पठन संस्कृति र कुलतबाट बचाउन यस किसिमका सांस्कृतिक कार्यक्रमहरु अत्यन्तै महत्वपूर्ण छन्,’ उनले भने ।

कार्यक्रममा विद्यालयका छात्रछात्राहरुका साथै स्थानीय साहित्यिक व्यक्तित्व, अभिभावक र अन्य अतिथिहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

उपस्थित अभिभावकहरुले विद्यार्थीहरुको प्रस्तुति निकै सृजनात्मक र प्रभावशाली भएको प्रतिक्रिया दिएका थिए ।