मतदातामा परिवर्तनको चाहना देखिएको मनिष झाको दाबी

जनकपुरधाम, ७ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले यस पटकको निर्वाचनमा युवा मात्रै नभई सबै उमेर समूहका मतदाता परिवर्तनको पक्षमा देखिएको बताएका छन् ।
झाले घरदैलो अभियानका क्रममा मतदाताको मनस्थिति परिवर्तनतर्फ उन्मुख रहेको महसुस गरेको बताएका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ मा घरदैलो कार्यक्रम गर्दै उनले आफ्नो उम्मेदवारीप्रति युवामा मात्र आकर्षण रहेको भन्ने चित्रण भए पनि अन्य पुस्तामा झनै बढी समर्थन देखिएको दाबी गरे ।

युवाले आफ्ना धारणा सडक तथा सामाजिक सञ्जालमार्फत खुला रूपमा व्यक्त गर्ने गरे पनि अन्य उमेर समूह राजनीतिक परिवेशप्रति असन्तुष्ट रहेको उनले बताए ।
झाका अनुसार वरिष्ठ पुस्ताले परिवर्तन नहुँदा कस्तो मूल्य चुकाउनु पर्छ भन्ने अनुभव गरिसकेकाले उनीहरू पनि यस पटकको निर्वाचनमा नयाँ विकल्प खोजिरहेका छन् ।
जनताले खोजेको परिवर्तन रास्वपाले व्यवहारमा उतारेर देखाउने उनको भनाइ थियो ।

उनले आफूहरू केवल परिवर्तनको नारामा सीमित नभई परिणाममुखी परिवर्तनको पक्षमा रहेको उल्लेख गर्दै त्यसैका लागि जनजनमा आफ्ना योजना र दृष्टिकोण पुर्याइरहेको बताए ।
विगतमा पटकपटक राजनीतिक र संवैधानिक परिवर्तन भए पनि जनताले अपेक्षा गरेको परिणाम नआएको भन्दै उनले यस पटक मतदाताले परिणाममुखी परिवर्तनका लागि नयाँ शक्तिमाथि विश्वास गर्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


