प्रत्यक्ष र समानुपातिक दुवैमा एमाले रोज्न जुलीको आग्रह

जनकपुरधाम, ६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की धनुषा–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जुलीकुमारी महतोले घरदैलो अभियानलाई तीव्रता दिएकी छन् ।
निर्वाचन नजिकिँदै जाँदा उनी दैनिकजसो मतदाताको घरघर पुगेर भेटघाट र संवादमा सक्रिय देखिएकी हुन् ।
घरदैलो अभियानका क्रममा महतोले स्थानीय बासिन्दाका समस्या, गुनासा र अपेक्षा सुन्दै आफ्ना प्रतिबद्धता प्रस्तुत गरिरहेकी छन् ।
उनले एमालेको ‘समृद्ध नेपाल’को परिकल्पना साकार पार्न आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिन् ।
अभियान अन्तर्गत उनी धनौजी गाउँपालिका–२ गोरदाहामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेकी थिइन् ।
त्यहाँ स्थानीयले उनलाई स्वागत गर्दै आफ्ना क्षेत्रका विकासका प्राथमिकता बारे ध्यानाकर्षण गराएका थिए ।
उम्मेदवार महतोले आफू सदैव जनतासँगै रहेको उल्लेख गर्दै यसपटक मतदाताले अवसर दिने विश्वास व्यक्त गरिन् ।
एमालेलाई मधेशविरोधी दलका रूपमा चित्रण गर्ने प्रयास भइरहेको भन्दै उनले एमाले नेतृत्वको सरकारले मधेशमा सडक, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार विकासमा महत्वपूर्ण काम गरेको दाबी गरिन् ।
महतोले राष्ट्रिय विकास र स्थायित्वका लागि एमाले प्रतिबद्ध रहेको बताउँदै प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फ सूर्य चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरिन् ।
निर्वाचन अभियानलाई अझ व्यापक बनाउँदै आगामी दिनमा क्षेत्रका अन्य वडामा समेत घरदैलो कार्यक्रम सञ्चालन गर्ने उनको तयारी छ ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


