परिवर्तन र विकासका लागि घण्टीमा मतदान गरौं: मनिष झा

जनकपुरधाम, ६ फागुन । बुधबार नेपाली कांग्रेसको प्रतिज्ञा सभा जनकपुरधामस्थित तिरहुतिया गाछिमा आयोजना भइरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा–३ का उम्मेदवार मनिष झा नगराईन चोकमा जनतासँग प्रत्यक्ष भेटघाटमा निस्किए ।
कांग्रेसले जनकपुरधाममा एक लाख जनताको उपस्थितिको दाबी गरिरहँदा झा शान्तिपूर्ण तरिकाले नगराईन पुगेर स्थानीय मतदातासँग संवाद गरिरहेका थिए ।
नगराईन चोकमा आयोजित कार्यक्रममा ६१ वर्षीय रामहरि यादवले झालाई यसपटक घण्टीलाई जिताउने आश्वासन दिए । यादवले झाको शिरमा हात राख्दै भने, ‘मनिष बाबू, तपाईं ढुक्क हुनुहोस् । यसपटक केवल घण्टी बज्छ । यत्रो वर्षमा सबैलाई देखिसकेका छौँ । अब पाँच वर्षका लागि घण्टीलाई जिताउँछौँ ।’
कार्यक्रमका बिच करिब डेढ सय जनाले रास्वपा पार्टी प्रवेश गरेका थिए । उनले नवप्रवेशीलाई स्वागत गर्दै आफ्नो प्रतिद्वन्दीलाई व्यक्तिगत रूपमा नभई खराब प्रवृत्तिसँग तुलना गरेका थिए ।
झाले भने, ‘घरदैलो कार्यक्रममा जनताको आँखामा आशा र अपेक्षा मात्रै देखिन्छ । यही अपेक्षा पूरा गर्न परिवर्तन आवश्यक छ । तपाईंहरु कोहीसँग नडराउनुस् । हामी छौँ तपाईंको साथमा । यसपटक बिनाकुनै डर भय घण्टीमा मतदान गर्नुस् । बाँकी तपाईं काम हेर्नुहोस् ।’
कार्यक्रममा पार्टी प्रवेश गरेका घनश्याम मण्डलले अब बालेन सरकारको विकल्प नभएको बताएका थिए । उनले भने, ‘अब बालेन सरकार बनाऔं, सबै समस्या समाधान हुन्छ । यसपटक मधेशीलाई प्रधानमन्त्री बनाएर इतिहास रचौँ ।’
यसअघि नै रास्वपामा प्रवेश गरिसकेका रामलक्ष्मण यादवले नगराईन जस्तो क्षेत्रमा रास्वपाको पक्षमा जनमत देखिनु जनता पीडा र समस्यामा रहेको संकेत भएको बताए ।
उनले भने, ‘हत्यारा पार्टीको अब दिन गयो । यसपटक परिवर्तनको विकल्प छैन । सबैले घण्टीमा मतदान गरेर बालेनको सरकार बनाऔँ ।’
धनुषा–३ मा झाको चुनावी कमाण्डर जितेन्द्र महासेठ र बलियो सहयोगी अम्भुप्रसाद साहले नवप्रवेशीलाई स्वागत गर्दै राष्ट्र निर्माण अभियानमा जोडिन रास्वपाको मजबुती बढाउनुपर्ने बताएका थिए ।
कार्यक्रमको क्रममा झा र उनका सहकर्मीहरूले स्थानीय राजेश्वर निधि माध्यमिक विद्यालयको निरीक्षण पनि गरे ।
विद्यालयको शौचालय जर्जर र अत्यधिक दुर्गन्धित अवस्थामा देखिएपछि महासेठले प्रश्नसहित सचेत गराएका थिए ।
उनले भने, ‘यदि हामी सरकारको नेतृत्वमा पुग्यौं भने हाम्रो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य हुनेछ । विद्यालय भवन र शौचालयको स्तर पनि सुधार्नेछौँ । अहिले साथीहरूले शौचालय प्रयोग गर्न गएकामा स्थिति यस्तो छ कि नाक–आँखा सबै थुन्नुपर्ने अवस्था छ । अब अति भयो, बालेनलाई सरकारको नेतृत्व सम्हाल्न दिनु पर्छ ।’



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


