प्रत्येक नेपालीले सपना देख्न पाउने र साकार पार्ने अवसर पाउनेछन्: सभापति थापा

जनकपुरधाम, ६ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरेक नेपालीलाई सम्मानित जीवन बिताउने अवसर सुनिश्चित गर्दै देशको समग्र विकास गर्ने आफ्नो भिजन सार्वजनिक गरेका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापतिले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने, ‘प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउनेछन् । प्रत्येक नागरिकले आफ्नो सपना देख्न पाउने र जीवनकालमा त्यसलाई साकार पार्न सक्ने अवसर पाउनेछ ।’
उनले कृषकलाई केन्द्रमा राख्दै नेपाललाई पेटभरि खुवाउने र आफ्नै उत्पादनलाई विश्वभर चिनाउने किसानको देश बनाउने प्रतिवद्धता दोहोर्याए ।

थापाले शिक्षामा लगानीलाई अझ प्रभावकारी बनाउने र परिवारले ऋण लिन नपर्ने व्यवस्था सुनिश्चित गर्ने लक्ष्यसमेत उल्लेख गरे ।
‘नेपाललाई हामी छोराछोरीलाई पढाउँदा ऋण नलिनुपर्ने बनाउनेछौँ । हाम्रो देशमा ओखती गर्दा डर नलाग्ने वातावरण सिर्जना गर्नेछौँ,’ उनले थपे ।
सभापति थापाले नेपालको मौलिकता र आधुनिकतालाई सँगसँगै अघि बढाउने योजना पनि प्रस्तुत गरे ।
उनले भने, ‘नेपाललाई मौलिकतामा गौरव गर्ने र आधुनिकतामा लम्किने देश बनाउनेछौँ । विश्वले हाम्रो देशलाई स्वाभिमानी राष्ट्रको रूपमा चिन्नेछ ।’
उनले नागरिकको दैनिकी र हैरानीबाट मुक्त हुने समाजको पनि प्रतिज्ञा गरे । ‘प्रत्येक नागरिक हैरानीबाट नगुज्रिने, सम्मानित जीवन पाउनेछ । यो हाम्रो संकल्प हो, प्रतिज्ञा हो,’ सभापति थापाले आफ्नो सम्बोधनमा भने ।

यसअघि नेपाली कांग्रेसले आफ्नो विस्तृत १० बुँदे भिजन र चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै मुलुकमा सुशासन, समृद्धि र समावेशी विकासको प्रतिवद्धता व्यक्त गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


