जनकपुरधाम, ६ फागुन । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्ने जोड दिएका छन् ।

बुधबार जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजित प्रतिज्ञा सभामा नेता निधिले वर्तमान संविधान र लोकतान्त्रिक शासन व्यवस्था जोगाउन कांग्रेसको जित अनिवार्य रहेको बताएका हुन् ।

नेता निधिले सबै कांग्रेस कार्यकर्ता, समर्थक र जनतालाई एकताबद्ध भएर निर्वाचनमा लाग्न आह्वान गर्दै भने, ‘अहिले नेपालमा जननिर्वाचित सरकार र संसद् छैन । यसै कारण निर्वाचनमार्फत जनताका प्रतिनिधि निर्वाचित गर्नुपर्छ र तीनै तहमा सरकार निर्माण गर्नुपर्छ । वर्तमान शासन व्यवस्था र लोकतन्त्रलाई बचाउन कांग्रेसको बहुमत आवश्यक छ ।’

उनले संविधानसभामा नेपाली कांग्रेसको नेतृत्वमा तयार भएको वर्तमान संविधान सबै नागरिकका अधिकार सुनिश्चित गर्ने गरी निर्माण गरिएको बताए ।

नेता निधिले यस संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको बहुमत आवश्यक रहेको र जनता यसलाई सफल बनाउने जिम्मेवारीमा सहभागी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेता निधिले पार्टीभित्रको संगठन सुदृढ पार्ने, विभिन्न क्षेत्रका कार्यकर्ता र स्थानीय नेतासँग प्रत्यक्ष संवाद गर्ने र निर्वाचनमा व्यापक मतदान सुनिश्चित गर्ने विषयमा पनि छलफल गरे ।

उनले निर्वाचनमा सबै एकताबद्ध भएर लाग्दा मात्रै कांग्रेसले अपेक्षित सफलता हासिल गर्न सक्ने बताए ।

प्रतिज्ञा सभामा मधेश प्रदेशका अन्य वरिष्ठ नेताहरू पनि उपस्थित थिए । यस अवसरमा कांग्रेसको आगामी निर्वाचन रणनीति, विकास योजनाहरू र जनअधिकारमा केन्द्रित प्रतिज्ञापत्रको महत्वबारे विस्तृत रूपमा जानकारी दिइयो ।

नेता निधिले उपस्थित कार्यकर्ता र समर्थकहरूलाई सङ्गठित भएर निर्वाचनको दिनसम्म पार्टीलाई जिताउन र वर्तमान संविधान तथा लोकतन्त्रको रक्षा गर्न सक्रिय रहन आग्रह गरे ।