नेपाली कांग्रेसले सार्वजनिक गर्यो १० बुँदे ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भिजन

जनकपुरधाम, ६ फागुन । नेपाली कांग्रेसले मुलुकमा सुशासन, समृद्धि र नागरिकको सम्मान सुनिश्चित गर्ने उद्देश्यसहित आफ्नो विस्तृत १० बुँदे भिजन सार्वजनिक गरेको छ ।
पार्टीले बुधबार जनकपुरधाममा आयोजित विशेष समारोहमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ मूल नारासहित आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्य र प्रतिबद्धताहरू प्रस्तुत गरेको हो ।
सभापति गगन थापाका अनुसार कांग्रेसको भिजनले हरेक नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राख्नेछ । जात, धर्म, लिङ्ग वा क्षेत्रको आधारमा हुने विभेद अन्त्य गर्दै नागरिकले शिर ठाडो राखेर बाँच्न पाउने ‘सम्मानित नेपाल’ निर्माण गर्ने योजना छ ।
भिजन अनुसार सरकारको शक्तिको पहुँचका भरमा पाइने विशेषाधिकार अन्त्य गर्दै प्रशासनिक सेवा ढिलासुस्तीमुक्त, बेथिति रहित र नागरिकमैत्री बनाइनेछ । भ्रष्टाचार नियन्त्रण र घरमै बसेर सरकारी सेवा पाउने व्यवस्था लागू गरिने पनि उल्लेख छ ।
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको प्रवर्द्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारिएको छ । विदेश पलायन रोक्दै युवाहरूले नेपालमै रोजगारी र भविष्यको अवसर पाउने वातावरण सिर्जना गर्ने रणनीतिलाई दस्तावेजमा समावेश गरिएको छ ।
कृषिलाई मर्यादित पेशा बनाउन प्रविधि र बजार व्यवस्थापनको योजना अघि राखिएको छ । पर्यटन, ऊर्जा र पूर्वाधारको विकासमार्फत समृद्धिको बाटोमा नेपाल अघि बढ्ने चित्र पनि यसमा समेटिएको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गुणस्तरीय शिक्षा र स्वास्थ्य बीमा प्रणाली लागू गरिने प्रतिवद्धता जनाइएको छ । अभिभावकमा आर्थिक भार नपरी गुणस्तरीय शिक्षा उपलब्ध गराउने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य पनि भिजनमा रहेको छ ।
पार्टीले नेपालका मौलिक भाषा, संस्कृति, विविधता र सम्पदामा गर्व गर्दै आधुनिकता अपनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वाभिमान उच्च राख्ने विदेश नीति अवलम्बन गर्ने योजना पनि प्रस्तुत गरेको छ ।










तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


