जेनजी र सुशासनको एजेन्डा कांग्रेसमै सम्भव: ममता शर्मा

जनकपुरधाम, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
जनकपुरधामस्थित तिरुहुतियागाछीमा आयोजित कांग्रेसको ‘प्रतिज्ञा सभा’का अवसरमा उनलाई पार्टीका केन्द्रीय सभापति गगनकुमार थापाले स्वागत गरेका हुन् ।
पार्टी प्रवेशपछि सम्बोधन गर्दै शर्माले रास्वपामा आफूले योगदान गरे पनि दागी व्यक्तिहरूलाई प्राथमिकता दिइएको आरोप लगाइन् ।
उनले पार्टीभित्रको निर्णय प्रक्रिया र टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै आफूले रास्वपा परित्याग गरेको स्पष्ट पारिन् ।
‘रास्वपा पार्टीमा दागैदाग भएकाहरूले टिकट पाएपछि मैले गरेको योगदान खेर गएको महसुस भयो । त्यसैले जेनजीको भावना बोकेको र सुशासनमा जोड दिने नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ,’ उनले भनिन् ।
शर्माले नेपाली कांग्रेस ८० वर्षे राजनीतिक विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै मधेशको मुद्दालाई प्राथमिकतामा राख्ने दाबी गरिन् ।
वर्तमान नेतृत्वले मधेशमै आएर उम्मेदवारी दिएको सन्दर्भ उल्लेख गर्दै उनले मधेशी जनताले कांग्रेसलाई साथ दिनुपर्ने धारणा व्यक्त गरिन् ।
उनले विगतका निर्वाचनहरूमा मधेशले नेताहरूलाई मत दिए पनि अपेक्षाअनुसार प्रतिफल नपाएको गुनासो गरिन् ।
‘हरेक चुनावमा मधेशले नेताहरूलाई भोट दियो । तर, नेताहरूले मधेशलाई चोटैचोट दिए,’ उनले भनिन् ।
मैथिली भाषामा सम्बोधन गर्दै शर्माले मधेशका मतदातालाई सक्षम उम्मेदवार छान्न र कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न अपिल गरिन् ।
उनले मधेशको विकास र सुशासनका लागि यसपटक परिवर्तनको पक्षमा उभिन आग्रह गरिन् ।
शर्माको पार्टी प्रवेशलाई मधेश प्रदेशको राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ ।
आगामी निर्वाचन नजिकिँदै जाँदा उनको यो निर्णयले स्थानीय राजनीतिक समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


