जनकपुरधाम, ६ फागुन । नेपाली कांग्रेसले जनकपुरधाममा भव्य चुनावी सभा आयोजना गर्दै आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

‘प्रतिज्ञा सभा’ नाम दिइएको उक्त कार्यक्रम जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना गरिएको हो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित सभामा पार्टीका शीर्ष नेताहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

कार्यक्रममा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका केन्द्रीय नेताहरू जनकपुरधाम पुगेका छन् । सभालाई मुख्य रूपमा सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

कांग्रेसले आफ्नो चुनावी घोषणापत्रलाई यसपटक ‘प्रतिज्ञापत्र’ नामकरण गर्दै जनतासामु प्रतिबद्धताहरू सार्वजनिक गरेको हो ।

पार्टीका अनुसार प्रतिज्ञापत्रमा सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा संघीयताको सुदृढीकरणका विषयलाई प्राथमिकता दिइएको छ ।

सभामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट नेता कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूबीच चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको सन्दर्भमा कांग्रेसको यो सभा राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ ।