महोत्तरी, ५ फागुन । महोत्तरी–२ मा यस पटकको प्रतिनिधिसभा निर्वाचनलाई उम्मेदवारहरूको प्रतिस्पर्धा मात्र नभई दशकौँदेखिको राजनीतिक निरन्तरता र सम्भावित परिवर्तनबीचको बहसका रूपमा देखिन थालेको छ । यही बहसको केन्द्रमा छन् अधिवक्ताबाट राजनीतिज्ञ बनेका रमण कुमार कर्ण ।

अदालतको बहसमा व्यस्त रहने कर्ण पछिल्ला वर्षहरूमा राष्ट्रिय राजनीतिक घटनाक्रममा सक्रिय देखिए । विभिन्न राष्ट्रिय महत्वका विषयमा कानुनी व्याख्या र विश्लेषणका लागि सञ्चारमाध्यमले खोज्ने नाममध्ये एक थिए उनी ।

अदालतमा मुद्दा बहसदेखि संविधान र कानुनका जटिल विषयमा धारणा राख्ने अधिवक्ताको परिचय बनाएका कर्णले अहिले भने औपचारिक रूपमा राजनीतिमा पाइला चालेका छन् ।

पछिल्लो राजनीतिक उथलपुथलको चरण, विशेषतः तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भएर नयाँ समीकरण बन्ने प्रक्रियामा कानुनी सहजीकरणको विषय चर्चामा थियो । त्यतिबेला कर्णसँगै ओम प्रकाश अर्याल पनि सक्रिय कानुन व्यवसायीका रूपमा देखिएका थिए ।

अर्याल अहिले गृहमन्त्रीका रूपमा सरकारमा छन् भने कर्णले सरकारको पद रोजेनन्; बरु निर्वाचन आयोगमा ‘जनादेश पार्टी नेपाल’ दर्ता गर्दै प्रत्यक्ष राजनीतिक मैदान रोजे ।

महोत्तरी–२ मा दशकौँदेखि उही राजनीतिक अनुहार दोहोरिँदै आएको तर आधारभूत विकासका सूचकहरूमा उल्लेख्य सुधार नदेखिएको भन्दै कर्णले चुनावी अभियानको केन्द्रमा ‘जवाफदेहिता’को मुद्दा उठाएका छन् ।

उनको भनाइ छ, ‘यदि उही नेतृत्वले परिवर्तन ल्याउन सक्थ्यो भने आज महोत्तरी–२ यति पछाडि हुने थिएन । दोष भाग्यलाई नभई गलत विकल्पलाई दिनुपर्छ ।’

उनले सडक, सिँचाइ, स्वास्थ्य र रोजगारीजस्ता न्यूनतम आवश्यकतामै क्षेत्र पछि परेको दाबी गर्छन् । ‘आज पनि धेरै सडक अधुरा छन् । किसान सिँचाइको भरपर्दो पहुँचबाट टाढा छन् । सामान्य उपचारका लागि जनतालाई जनकपुर वा काठमाडौं जानुपर्ने अवस्था छ,’ कर्ण भन्छन् ।

कर्णका अनुसार महोत्तरी–२ को सबैभन्दा गम्भीर समस्या युवाको भविष्यसँग जोडिएको छ । ‘युवाले यहाँ सम्भावना देख्न सकेका छैनन् । रोजगारी छैन, अवसर छैन । त्यसैले पलायन बढिरहेको छ,’ उनले भने ।

यदी स्थानीय नेतृत्वले दीर्घकालीन योजना बनाएको भए कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन र सीपमूलक तालिममार्फत रोजगारी सिर्जना सम्भव रहेको उनको तर्क छ । ‘नेतृत्व जिम्मेवार हुन्थ्यो भने अवस्था यस्तो हुने थिएन,’ उनी भन्छन् ।

एक अनुभवी अधिवक्ताको हैसियतमा आफू संसदलाई ‘पद र कुर्सी’को थलो नभई नीति निर्माण र जनआवाजको मञ्च बनाउन चाहेको कर्ण बताउँछन् ।

कानुन र संविधानको ज्ञानले संसदमा प्रभावकारी भूमिका खेल्न सक्ने उनको विश्वास छ । ‘म सत्ताको लोभले होइन, सेवाको संकल्पले राजनीतिमा आएको हुँ,’ उनी भन्छन् ।

आफू कुनै पुरानो सत्ताको भार बोकेर नआएको उल्लेख गर्दै उनले नयाँ सोच, पारदर्शिता र क्षेत्रकेन्द्रित योजनाको प्रतिबद्धता दोहोर्याएका छन् ।

कर्णको चुनावी एजेन्डामा महोत्तरी–२ लाई केन्द्रमा राखेर योजना बनाउने कुरा प्रमुख रूपमा उठाइएको छ । ‘यहाँको विकास कागजमा नभई जमिनमा देखिनुपर्छ,’ उनी भन्छन् ।

उनका अनुसार यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई क्षेत्रको दिशा बदल्ने अवसर हो । ‘यो चुनाव अनुहार रोज्ने नभई क्षमता रोज्ने हो । नारा नभई नतिजा खोज्ने हो,’ उनले मतदातासँग अपिल गरेका छन् ।

आगामी निर्वाचनमा आफ्नो चुनाव चिह्न ‘मोबाइल’ रहेको उल्लेख गर्दै कर्णले मतदातालाई सचेत निर्णय गर्न आग्रह गरेका छन् । ‘परिवर्तन एक भोटबाट सुरु हुन्छ । महोत्तरी–२ को परिवर्तन मोबाइल छापबाट सुरु गरौँ,’ उनको अपिल छ ।

महोत्तरी–२ मा यस पटकको चुनावी प्रतिस्पर्धा परम्परागत नेतृत्वको निरन्तरता र नयाँ राजनीतिक विकल्पबीचको छनोटका रूपमा व्याख्या हुन थालेको छ ।

अधिवक्ताबाट राजनीतिमा होमिएका रमण कुमार कर्णले उठाएको ‘जवाफदेही नेतृत्व’को मुद्दाले मतदाताको मन कत्तिको छुन्छ, त्यसको परीक्षण भने मतपेटिकामै कैद हुनेछ ।