जनकपुरधाम, ५ फागुन । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा धनुषा–३ बाट नेकपा एमाले उम्मेदवार जुली कुमारी महतोले आफ्नै प्रचार अभियानलाई तीव्रता दिएकी छन् ।

मंगलबार उनले जनकपुरधाम–१ स्थित रेल्वे स्टेशन नजिकैको हनुमान मन्दिरमा पूजा अर्चना गरेर घरदैलो कार्यक्रमको शुरुवात गरिन् ।

महतोले नयाँ र पुरानोको नारा दिएर परिवर्तनको वाचा गर्ने अन्य उम्मेदवारहरूलाई ‘झुठको पुलिन्दा’ मात्र बुन्ने काम गरिरहेको आरोप लगाइन् ।

उनले भनिन्, ‘यहाँका जनतालाई थाहा छ, सांसद बन्नकै लागि परिवर्तनको नारा दिइँदैछ, पहिले पनि सांसद भइसकेका व्यक्तिले नयाँको नारा दिनु जनतालाई बरगलाउनु हो ।’

महतोले एमालेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियान यहाँका जनता विश्वास गर्दै आएको र देश विकासको उत्तम योजना एमालेसँग मात्रै रहेको दाबी गरिन् ।

उनले जनकपुरधाम–१ का वडा सभापति अर्को पार्टीमा प्रवेश गरेको प्रसंगलाई व्यङ्ग्य गर्दै भनिन्, ‘वडा सभापतिले पार्टी छोड्नु भनेको संगठन समाप्त भएको होइन । उहाँ जहाँ जानु भयो, एमालेलाई नै सहयोग पुग्नेछ ।’

घरदैलो कार्यक्रमको क्रममा महतोले मतदाताको समस्या सुनेर समाधानकालागि सबै सम्भव प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।