ट्रेड युनियनद्वारा कडा कारबाही र सुरक्षा ग्यारेन्टीको माग

जनकपुरधाम, ५ फागुन । सर्लाहीस्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहार गरी हत्या गरिएको घटनाप्रति विभिन्न राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले घोर निन्दा र भर्त्सना गरेका छन् ।
फागुन ३ गते आइतबार साँझ आफ्नै डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली प्रहार गर्दा यादवको ज्यान गएको जनाइएको छ ।
घटनाले निजामती कर्मचारी वृत्तमा त्रास र आक्रोश फैलिएको छ ।
एकीकृत राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च तथा नेपाल निजामती कर्मचारी युनियन मधेश प्रदेश कार्यसमितिले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीको यथाशीघ्र पहिचान गरी पक्राउ गर्न तथा कानुन बमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
संयुक्त विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै, दिवंगत कर्मचारीलाई शहीद घोषणा गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
ट्रेड युनियनहरूले जनताको सेवामा खटिने राष्ट्रसेवक कर्मचारीमाथि कार्यक्षेत्रमै भएको आक्रमणले सम्पूर्ण कर्मचारीहरूको मनोबल खस्किएको उल्लेख गरेका छन् ।
आसन्न निर्वाचनको सन्दर्भमा कर्मचारीहरू फिल्डमा खटिनुपर्ने संवेदनशील समयमा यस्तो घटना हुनु गम्भीर चिन्ताको विषय भएको विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनको समयमा कार्यक्षेत्रमा खटिने कर्मचारीहरूको भौतिक तथा व्यक्तिगत सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न सरकारसँग माग गर्दै युनियनहरूले सरकार गम्भीर नबने आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


