अत्यावश्यक सेवा व्यवस्थापनबारे समन्वय बैठक

महोत्तरी, ५ फागुन । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अत्यावश्यक सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले समन्वय बैठक सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आयोजित बैठकमा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य र शिक्षा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
बैठकमा विपद्, आपतकालीन अवस्था तथा अन्य संवेदनशील परिस्थितिमा स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत्, सञ्चारलगायतका अत्यावश्यक सेवाहरूलाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा सेवा प्रवाहमा देखिएका समस्या, स्रोत साधनको व्यवस्थापन, जनशक्ति परिचालन तथा स्थानीय तह र जिल्ला प्रशासनबीच समन्वय मजबुत बनाउने उपायबारे समेत विचार विमर्श भएको बताइएको छ ।
प्रशासनले सेवा प्रवाहमा कुनै अवरोध आउन नदिन सम्बन्धित निकायलाई सजग र तयारी अवस्थामा रहन निर्देशन दिएको छ । साथै, आकस्मिक परिस्थितिमा द्रुत प्रतिक्रिया दिने संयन्त्रलाई सक्रिय राख्नुपर्नेमा जोड दिइएको थियो ।
बैठकले जिल्लामा अत्यावश्यक सेवाको प्रभावकारी व्यवस्थापनका लागि नियमित समन्वय र सूचना आदान प्रदानलाई प्राथमिकता दिने निर्णयसमेत गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


