कानुनी कारबाहीको दायरामा ल्याउन प्रजिअलाई आग्रह

जनकपुरधाम, ५ फागुन । नेपाल इन्जिनियर्स एशोसिएसनको मधेश प्रदेश प्रादेशिक केन्द्रले सब–इन्जिनियर प्रमोद कुमार यादवको हत्याप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रशासनसँग माग गरेको छ ।
एशोसिएसनले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेललाई ज्ञापनपत्र बुझाउँदै सर्लाहीस्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर यादवमाथि भएको गोली प्रहारको घटनालाई अत्यन्त दुःखद र निन्दनीय भएको जनाएको छ ।
सिरहा जिल्लाको सुखीपुर नगरपालिका–९ निवासी यादवलाई फागुन ३ गते साँझ करिब ७ः५० बजे सर्लाहीको मलंगवामा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।
ज्ञापनपत्रमा भनिएको छ, ‘उक्त घटनाले सम्पूर्ण इन्जिनियर तथा प्राविधिक समुदायलाई स्तब्ध र मर्माहत बनाएको छ ।’ एशोसिएसनले स्वर्गीय सब–इन्जिनियरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
एशोसिएसनका सभापति इन्जिनियर गौरी पंडित र सचिव इन्जिनियर अजित कुमार मण्डलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा घटनामा संलग्न व्यक्तिहरूलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ । दोषीलाई अविलम्ब पक्राउ नगरे एशोसिएसन थप आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दिइएको छ ।
मधेश प्रदेशको जनकपुरधामस्थित प्रादेशिक केन्द्रबाट जारी विज्ञप्तिमा सार्वजनिक सेवामा खटिएका प्राविधिकहरूको सुरक्षाप्रति राज्य गम्भीर हुनुपर्ने उल्लेख गरिएको छ । विकास निर्माणको जिम्मेवारी सम्हालिरहेका इन्जिनियरमाथि भएको आक्रमणले सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने र प्राविधिकहरू असुरक्षित महसुस गर्न बाध्य हुने एशोसिएसनको भनाइ छ ।
यता, प्रशासनले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । तर, घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउबारे आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


