मधेशबाट कांग्रेसको चुनावी बिगुल, जनकपुरधाममा आमसभा

जनकपुरधाम, ५ फागुन । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले पार्टीको आगामी चुनावी अभियान मधेशबाटै सुरु गरिने बताएका छन् ।
मधेशका एजेन्डालाई केन्द्रमा राख्दै चुनावी आमसभा तथा प्रतीज्ञापत्र सार्वजनिक गर्ने तयारी गरिएको उनले जानकारी दिएका हुन् ।
उनका अनुसार मधेशका मुद्दा, पहिचान र विकासका सवाललाई प्राथमिकतामा राखेर कांग्रेसले पहिलोपटक मधेशमै चुनावी सभा आयोजना गर्न लागेको हो ।
‘मधेशलाई बुझ्न, मधेशको समस्या बुझ्न र बुझाउन तथा उर्वरा भूमिको विरासत जोगाउन कांग्रेसलाई जिताउन यहाँबाट अभियान थाल्न लागेका हौँ,’ उनले भने ।
यादवले मधेशमा चुनावी माहोल सिर्जना गर्न पार्टीका केन्द्रीय सभापति गगन थापाको उपस्थितिमा आमसभा आयोजना गरिने बताए । उनका अनुसार विगतका निर्वाचनहरूमा मधेशले मत दिए पनि अपेक्षित न्याय र विकास नपाएको गुनासो व्यापक रहेकाले यसपटक कांग्रेसले स्पष्ट एजेन्डासहित मधेशलाई न्याय दिलाउने अठोट गरेको छ ।
‘सरकार गठनका लागि कांग्रेसले विगतमा जिते पनि मधेशका मुद्दा सम्बोधनमा कमजोरी भएको स्वीकार गर्छौं,’ उनले भने, ‘यसपटक मधेशलाई बुझ्न र विश्वास जित्न जनकपुरधामबाटै नयाँ प्रतिबद्धता सार्वजनिक गर्नेछौं ।’
कांग्रेसले गगन थापाको उम्मेदवारीलाई मधेशको पहिचान, सम्मान र शानसँग जोड्दै मधेश प्रदेशका ३२ वटै सिट जित्ने लक्ष्यसहित अभियान अघि बढाउने रणनीति बनाएको जनाएको छ ।
यसैबीच, बुधबार जनकपुरधाममा आयोजना हुन लागेको आमसभाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गरिने भएको छ । दिउँसो २ बजे मधेश प्रदेश पार्टी कार्यालय, थापाचोकमा पत्रकार सम्मेलन आयोजना गरी आमसभाको तयारी, एजेन्डा र कार्यक्रम तालिका सार्वजनिक गरिने बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


