जलेश्वरमा ‘मेयर लोकसेवा कक्षा’ शुभारम्भ

महोत्तरी, ५ फागुन । महोत्तरीको जलेश्वर नगरपालिकामा युवाहरूलाई लक्षित गर्दै ‘मेयर लोकसेवा कक्षा’ विधिवत् रूपमा सञ्चालनमा आएको छ ।
मंगलबार बिहान ७ बजे महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित एक समारोहबीच कक्षाको भव्य उद्घाटन गरिएको हो ।
कार्यक्रम जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव उपस्थित थिए । साथै लोकसेवा आयोगका अधिकृत केदारनाथ शर्मा, कृष्णराज गिरी, संगीता सिंह, प्रशिक्षकहरू पृथ्वीनारायण शाह, सीमा राई, आर्या निरौला तथा कार्यक्रम संयोजक रञ्जित चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अजय कुमार झाले गरेका थिए ।
औपचारिक कार्यक्रमअघि अतिथि तथा अध्यक्षलाई अंगवस्त्रले सम्मान गरिएको थियो । त्यसपछि अध्यक्ष र प्रमुख अतिथिबाट संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रम संयोजक रञ्जित कुमार चौधरीले स्वागत मन्तव्यका क्रममा जलेश्वरका युवाहरूको उज्ज्वल भविष्य र रोजगारीका अवसरलाई मध्यनजर गर्दै मेयर सोनारको पहलमा कक्षा सञ्चालन गरिएको जानकारी दिए । सुरुमा अधिकतम ६० जना विद्यार्थीलाई समेट्ने योजना बनाइए पनि ९८ जनाले नामांकन गराएपछि सबैलाई सहभागी गराउने निर्णय गरिएको उनले बताए ।
जलेश्वर नगरपालिकामा पहिलो पटक औपचारिक रूपमा लोकसेवा तयारी कक्षा सञ्चालन हुन लागेको उल्लेख गर्दै उनले यसलाई ऐतिहासिक पहलका रूपमा चित्रण गरे ।
प्रमुख जिल्ला अधिकारी यादवले आफ्नो शैक्षिक यात्रा र लोकसेवा तयारीका अनुभव सुनाउँदै सफलता हासिल गर्न आवश्यक सरल तर प्रभावकारी सूत्रहरू प्रस्तुत गरे । उनको प्रेरणादायी मन्तव्यले सभाकक्षमा उपस्थित विद्यार्थीहरू उत्साहित देखिन्थे ।
त्यस्तै, लोकसेवा आयोगका अधिकृत केदारनाथ शर्माले परीक्षा उत्तीर्ण गर्न व्यक्तिगत अनुशासन, नियमित अध्ययन र लक्ष्यप्रतिको प्रतिबद्धता अनिवार्य रहेको बताए ।
अध्यक्षीय मन्तव्यका क्रममा मेयर सोनारले सहभागी सबै विद्यार्थीलाई शुभकामना दिँदै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । आर्थिक अभावका कारण युवाहरू अवसरबाट वञ्चित नहुन् भन्ने आफ्नो दृढ संकल्प रहेको उनले बताए ।
उनले नगरपालिकाभित्र आधुनिक र सृजनात्मक शिक्षण पद्धति विस्तार गर्ने, शैक्षिक संस्थाहरूलाई समयसापेक्ष बनाउने तथा रा.वि.म. क्याम्पसलाई आधुनिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने योजना सुनाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


