परिवर्तनको नाममा भ्रम नफैलाऔँ : विमलेन्द्र निधि

जनकपुरधाम, ४ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले ‘परिवर्तन’ शब्दलाई केवल चुनावीको नारामा सीमित नगर्न आग्रह गरेका छन् ।
उनले देशमा विगत दुई दशकमा भएका संरचनागत रूपान्तरणहरूलाई स्मरण गराउँदै अब बहस ‘अनुहार वा उमेर’को नभई प्रणाली सुदृढीकरण र परिणामको हुनुपर्ने बताएका छन् ।
निर्वाचन प्रचार अभियानका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निधिले प्रश्न गरे, ‘परिवर्तनको अर्थ के? उमेरको? अनुहारको? वा नामको?’
उनका अनुसार परिवर्तन नयाँ अनुहार ल्याउने कुरा नभई स्थापित उपलब्धिलाई व्यवहारमा उतार्ने र संस्थागत गर्ने प्रक्रिया हो ।
उनले देशमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना, एकात्मक शासन प्रणालीबाट संघीय संरचनामा रूपान्तरण, निर्दलीय व्यवस्थाबाट बहुदलीय लोकतन्त्रको स्थापनासम्मका ऐतिहासिक कदमहरूलाई ठूला परिवर्तनका रूपमा व्याख्या गरे ।
‘पहिले राजाले संविधान बनाउँथ्यो, अहिले जनता स्वयंले संविधान निर्माण गरेका छन् । यसभन्दा ठूलो परिवर्तन के हुन सक्छ?’ उनले भने ।
निधिले संविधानले सुनिश्चित गरेका समावेशीता, संघीयता र लोकतान्त्रिक अधिकारलाई व्यवहारमा प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राखे ।
उनका अनुसार अबको आवश्यकता शासन प्रणालीलाई बलियो बनाउँदै आर्थिक समृद्धि, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउनेतर्फ केन्द्रित हुनुपर्छ ।
उनले मतदातासँग भावनात्मक नाराभन्दा उपलब्धि र कार्ययोजनाका आधारमा निर्णय लिन आग्रह गर्दै भने, ‘परिवर्तनलाई स्थायित्व दिन अनुभवी नेतृत्व र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ।’
चुनावी मैदानमा परिवर्तनको अर्थ र दिशाबारे दलहरूबीच प्रतिस्पर्धा चर्किँदै जाँदा निधिले संरचनागत उपलब्धिको रक्षा र कार्यान्वयनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


