भाषण नभई कामको राजनीति गर्ने मनिष झाको प्रतिबद्धता

जनकपुरधाम, ४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका मनिष झाले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
सोमबार उनले जनकपुरधाम वडा नम्बर-१६ स्थित कपिलेश्वरबाट घरदैलो कार्यक्रमको औपचारिक शुरूवात गर्दै नगराइन नगरपालिकाका विभिन्न टोल बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् ।
घरदैलोका क्रममा झाले शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत पूर्वाधार विकासलाई आफ्नो मुख्य प्राथमिकता रहने बताए ।
विगतका वर्षहरूमा दोहोरिँदै आएको परम्परागत राजनीतिक शैलीबाट जनता निराश भएको उल्लेख गर्दै उनले अब व्यवहारमा देखिने परिवर्तन आवश्यक रहेको धारणा राखे ।
‘अब जनताले नै पुरानो शैलीको राजनीतिलाई बदल्न अग्रसर हुनुपर्छ,’ उनले भने, ‘हामी भाषणभन्दा काममा विश्वास गर्छौं । जनताबाट संकलित कर जनताकै हितमा पारदर्शी ढंगले खर्च हुने प्रणाली स्थापित गर्नु हाम्रो लक्ष्य हो ।’
उनले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, कृषि तथा साना–मझौला व्यवसाय प्रवर्द्धन गर्ने र भ्रष्टाचार नियन्त्रणका लागि कडा नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
परिवर्तनको एजेन्डा कागजमा सीमित नराखी व्यवहारमै लागू गरिने उनको भनाइ थियो ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले खानेपानीको अभाव, सडक स्तरोन्नति, फोहोर व्यवस्थापन र स्वास्थ्य सेवामा सहज पहुँच जस्ता समस्या उठाएका थिए ।
झाले ती विषयलाई प्राथमिकताका आधारमा योजनाबद्ध रूपमा समाधान गर्ने आश्वासन दिए ।
धनुषा–३ मा चुनावी माहोल तातिँदै जाँदा उम्मेदवारहरू सोमबारदेखि घरदैलो र प्रत्यक्ष संवादमार्फत मतदाता आकर्षित गर्ने अभियानमा जुटेका छन् ।



















तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


