जनकपुरधाम, ४ फागुन । मैथिली विकास कोषको आयोजनामा जनकपुरधाममा मंगलबारदेखि ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२’ आयोजना हुन लागेको छ ।

मंगलबार बिहान ९ बजेदेखि रंगभूमि मैदानबाट सांस्कृतिक झाँकीसहित महोत्सवको औपचारिक शुरुवात गरिने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिएका छन् ।

महोत्सवअन्तर्गत साहित्य, कला र नाट्य क्षेत्रका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए ।

स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार, साहित्यकार र रंगकर्मीहरूको सहभागिता रहने चौधरीले जानकारी दिए ।

उनका अनुसार महोत्सवले जनकपुरधामको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्नेछ ।

उद्घाटनको अवसरमा निकालिने सांस्कृतिक झाँकी (शोभा यात्रा) रंगभूमि मैदानबाट नगर परिक्रमा गर्दै विविध सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न गरिनेछ ।

विभिन्न जातजाति र समुदायका सांस्कृतिक झल्को प्रस्तुत गरिने कार्यक्रमले जनकपुरधामको बहुआयामिक सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गर्ने अध्यक्ष चौधरीले बताए ।

महोत्सव सफल बनाउन उनले सम्पूर्ण साहित्यप्रेमी, कलाकार, बुद्धिजीवी तथा सर्वसाधारणलाई सहभागिताका लागि अनुरोध गरेका छन् ।