रौतहट, ४ फागुन । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभरवामा ४५ वर्षीय महन्थ राय यादवले आफ्नै ३५ वर्षीया श्रीमती आरती देवी यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

घटनापछि महन्थ फरार भएका छन् ।

स्थानीयवासीलाई शंका लागेपछि वडा अध्यक्ष रामएकवाल यादवले इलाका प्रहरी कार्यालय सन्तपुर, दोस्तियालाई जानकारी गराएका थिए ।

प्रहरी टोलीले घटनास्थलमा पुगेर ढोका खोल्दा आरतीको शव मृत अवस्थामा फेला परेको थियो ।

उनको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरिएको थियो । घटनास्थलबाट सानो बन्चरो र मासु काट्ने दाउ बरामद भएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्षका अनुसार महन्थ र आरतीबीच केही वर्षदेखि सम्बन्ध ठिक थिएन । महन्थ पेटभरवामा सानो होटल सञ्चालन गर्दै आएका थिए भने आरती करिब तीन वर्षदेखि उद्योगमा काम गर्ने बहानामा घरबाट बाहिर बस्दै आएकी थिइन् । मृतकका दुई छोरा हाल मामाघरमा बस्दै आएका छन् ।

महन्थले वडा अध्यक्षलाई फोनमार्फत आफ्नी श्रीमती ‘चरित्रहीन’ भएकाले हत्या गरेको स्वीकार गरेका छन् ।

रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले प्रारम्भिक अनुसन्धानले दम्पतीबीच लामो समयदेखि विवाद रहेको देखाएको बताएका छन् ।

उनले अनुसन्धान पूरा नभएसम्म घटनाको कारणबारे ठोस निष्कर्ष निस्कन नसक्ने बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।