जनकपुरधाम, ४ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामलाई भारतको उत्तर प्रदेशस्थित अयोध्यासँग हवाइमार्गमार्फत जोड्न पहल गर्ने घोषणा गरेका छन् ।

धनुषाको कचुरीस्थित मिथिला मध्यमा परिक्रमाको शुभारम्भ गर्दै उनले जनकपुरधाम–अयोध्या सीधा उडान सञ्चालनका लागि भारत सरकारसँग समेत संवाद अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री यादवले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक महत्वका आधारमा रामायण सर्किटसँग प्रभावकारी रूपमा जोड्न सके मधेश प्रदेश समग्रमा प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुने विश्वास व्यक्त गरे ।

‘जनकपुरधाम–अयोध्या हवाइ सम्पर्क स्थापित भए धार्मिक पर्यटनले नयाँ उचाइ लिनेछ,’ उनले भने ।

उनले यस विषयमा संघीय सरकारसँग समेत आवश्यक समन्वय गर्ने जानकारी दिँदै प्रक्रिया अगाडि बढाइने बताए । साथै, जनकपुरधाम विमानस्थलको स्थलगत निरीक्षण गरिसकेको उल्लेख गर्दै धावनमार्ग विस्तार (रनवे एक्सटेन्सन) का सम्भावनाबारे प्राविधिक अध्ययन र आवश्यक पहल गरिने स्पष्ट पारे ।

पहिलो पटक मिथिला मध्यमा परिक्रमामा सहभागी हुन पाएकोमा आफूलाई गौरवान्वित महसुस भएको बताउँदै मुख्यमन्त्री यादवले धार्मिक–सांस्कृतिक कार्यक्रमहरूले प्रदेशको पहिचान र अर्थतन्त्र दुवैलाई सुदृढ बनाउने धारणा राखे ।

जनकपुरधाम–अयोध्या हवाइमार्ग सञ्चालन भएमा तीर्थयात्री र पर्यटक आगमनमा वृद्धि भई होटल, यातायात र सेवा क्षेत्र समेत प्रत्यक्ष लाभान्वित हुने विश्वास छ ।