सर्लाही, ४ फागुन । सर्लाहीको मलंगवामा आइतबार साँझ एक जना सब–ईञ्जिनियरको गोली हानी हत्या गरिएको घटनाले जिल्लाभर सनसनी फैलिएको छ ।

घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै विभिन्न क्षेत्रबाट दबाब बढ्न थालेको छ ।

हत्या घटनाको विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीहरूले सोमबारदेखि सेवा अवरुद्ध गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गर्न माग गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचानका लागि सिसी क्यामेरामा कैद दृश्यहरू सहित विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।

‘गोली प्रहार गर्नेको पहिचान नजिक पुगेका छौं । छिट्टै कानुनी दायरामा ल्याउँछौं,’ डिएसपी राईले भने ।

प्रहरीका अनुसार सिरहाको सुखीपुर नगरपालिका–६ बैशखागाउँ निवासी ३६ वर्षीय प्रमोदकुमार यादव मलंगवा नगरपालिका–१० देवीटोलस्थित एक घरमा डेरा गरी बस्दै आएका थिए ।

आइतबार साँझ मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले उनलाई घर बाहिर बोलाएर नजिकैबाट गोली प्रहार गरेका थिए । गोली यादवको देब्रे छातीमा लागेको थियो ।

गम्भीर घाइते यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । उनी मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा सब–ईञ्जिनियर पदमा कार्यरत थिए ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब दुई किलोमिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ ।

घटनापछि मलंगवाका विभिन्न नाकाहरूमा सुरक्षा जाँच कडा पारिएको छ भने शंकास्पद क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यस घटनाले जिल्लाको सुरक्षा अवस्था र शान्ति व्यवस्थामाथि प्रश्न उठाएको स्थानीयको भनाइ छ । प्रहरीले दोषीको खोजी कार्य तीव्र बनाइएको बताएको छ ।